लस एन्जलस, ९ भदौ : नासाले सेप्टेम्बरमा बोइङको स्टारलाइनरलाई पृथ्वीमा फिर्ता ल्याउने निर्णय गरेको छ । अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री बुच विल्मोर र सुनिता विलियम्स अर्को फेब्रुअरीसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा रहनुहुनेछ ।
नासाका अन्तरिक्ष यात्री विल्मोर र विलियम्स जुन ६ मा बोइङ स्टारलाइनरमा आइएसएस पुग्नुभएको थियो । उहाँहरू आठ दिनपछि फर्किने योजना भए पनि अन्तरिक्ष यानको प्राविधिक समस्याका कारण दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा अलपत्र पर्नुभएको छ ।
नासा र बोइङले जुन ६ मा स्टारलाइनर अन्तरिक्ष स्टेशनमा पुग्दा हिलियम चुहावट र अन्तरिक्ष यान प्रतिक्रिया नियन्त्रण थ्रस्टरहरूसँग समस्या अनुभव गरेका थिए ।
त्यसबेलादेखि इन्जिनियरिङ टोलीहरूले डेटाको सङ्कलन समीक्षा गर्न, उडान र ग्राउन्ड परीक्षणहरू सञ्चालन गर्न, एजेन्सी प्रोपल्सन विशेषज्ञहरूसँग स्वतन्त्र समीक्षाहरू होस्ट गर्न र विभिन्न फिर्ती आकस्मिक योजनाहरू विकास गर्न प्रयासहरू गरेका छन् ।
नासाले विल्मोर र विलियम्सले सन् २०२५ फेब्रुअरीसम्म औपचारिक रूपमा आफ्नो काम जारी राख्ने बताएको छ । उहाँहरूले एजेन्सीको स्पेसएक्स क्रु–९ मिसनमा तोकिएका दुई अन्य चालक दलका सदस्यसँग स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानमार्फत घरका लागि उडान भर्नुहुनेछ ।
क्रु–९ मिसन मूल रूपमा चालक दलका चार सदस्यसहित मङ्गलबार सेप्टेम्बर २४ भन्दा पहिले सुरु हुनेछ ।
“नासा र बोइङ टोलीहरूले ठूलो मात्रामा परीक्षण र विश्लेषण पूरा गरिसकेका छन् । यो उडान परीक्षणले अन्तरिक्षमा स्टारलाइनरको कार्यसम्पादनमा महत्त्वपूर्ण जानकारी प्रदान गरिरहेको छ । हाम्रो प्रयासले बिना चालक दलको फिर्तीका लागि तयारी गर्न मद्दत गर्ने र अन्तरिक्ष यानका लागि भविष्यका सुधारात्मक कार्यहरूलाई धेरै फाइदा पुर्याउनेछ”, नासाको कमर्सियल क्रु कार्यक्रमका प्रबन्धक स्टिभ स्टिचले भन्नुभयो । (रासस/सिन्ह्वा)