सर्लाही,९ भदौः पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी वनस्पति किन्ने गरेका छन् ।
झाडीमा उम्रिने यस वनस्पति कुनै औषधि तथा विषादीविना उत्पादन हुने भएकाले लाभदायक हुन्छ । वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी नलाग्ने यहाँका स्थानीय बताउँछन् । लगानी नलाग्ने भएका कारण निगुरोको पोषण र स्वाद जस्तै आम्दानी लोभलाग्दो छ । सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी गरिरहेका छन् । विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन् ।
जिल्लाको बरहथवा नगरपालिका–९, मूर्तिया निवासी सविता कुशवार दैनिक बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्नुहुन्छ । निगुरो राम्रो भेटिएको दिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको उहाँले बताउनुभयो । “यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “दिनको सात सयसम्मको निगुरो टिप्ने गरेको छु ।”
सोही स्थान बस्नुहुने फूलमाया तामाङको दैनिकी पनि उस्तै छ । छिटोछिटो टिप्ने भएकाले दिनमा सात सयसम्मको निगुरो टिपेर बेचेको फूलमायाले बताउनुभयो । “फुर्सदका समयमा गाउँका बुढापाकादेखि बालबालिका सबै निगुरो टिप्न वन पस्छन्”, उहाँ भन्नुभयो, “दैनिक बिहानबेलुका दुई÷चार घण्टा खट्दा राम्रो कमाई हुन्छ ।” निगुरो टिप्ने काम जागिर भएको उहाँले बताउनुभयो ।
गाउँघरमा पनि चाडबाड तथा भोजभतेरमा निगुरोको माग हन्छ । “गाउँतिरै पनि खोज्ने मान्छे आउछन्”, उहाँले भन्नुभयो, “व्यापारीलाई पनि अझै पुगेको छैन् ।” टिप्नसकेजति व्यापारीले लैजान्छन् । व्यापारीहरुले निगुरो बुझाएलगत्तै वा पछि एकमुष्ट मागको सयम पैसा दिने गरेका स्थानीयको भनाइ छ ।
“बसिरहनुभन्दा वनमा निगुरो खोज्यो”, उहाँले भन्नुभयो । “पैसामा पनि हुन्छ । निगुरो बेचेर बचत गरेको पैसाले आपत्विपतमा गर्जोटार्नदेखि औषधि उपचारमा सहयोग पुगेको स्थानीय नानीमैया कार्कीले बताउनुभयो । “निगुरो टिप्न थालेदेखि दुई चार रुपैयाँका लागि कसैलाई भन्नु परेको छैन”, उहाँले भन्नुभयो, “त्यस्तो दुःख पनि हुन्न् । केही घण्टा खट्ने हो । दुई चार सय भइहाल्छ ।” यसले ठूलो भरथेग भएको उहाँले बताउनुभयो । मीठो मसिनो खान, औषधि उपचार र घरखर्च नै धानेको छ ।”
यस क्षेत्रबाट विगत १० वर्षदेखि निगुरो टिप्ने सङ्कलन गर्ने र काठमाडौँका बजारसम्म पु¥याउने गरेको व्यवसायी सुनिता महतोले बताउनुभयो । उहाँका अनुसार सुरुमा स्थानीयले निगुरो टिपेको प्रतिमुठा पाँच रुपैयाँ पाउथे । अहिलो जोडी मुठाको रु २५ पाउँछन् । निगुरोसँगै अन्य मौसमअनुसारको तरकारी ढुवानी गर्ने गरेको उहाँले बताउनुभयो । सङ्कलित निगुरो बजारसम्म लैजाने व्यवस्था सुनिताका श्रीमान् धनेश्वर महतोले गर्ने गर्नुभएको छ ।
यस क्षेत्रका ३६र३७ परिवारले दैनिक निगुरो टिपेर ल्याउने व्यवसायी धनेश्वरले जानकारी दिनुभयो । “दैनिक १२ देखि १५ बोरासम्म निगुरो काठमाडौँ पु¥याउँछु”, उहाँले भन्नुभयो, “एक बोरामा ८० मुठा हुन्छ । दैनिक हजार मुठा बढी सङ्कलन हुन्छ ।”
निगुरो टिपेर मूर्तिया क्षेत्रका स्थानीयले गत वर्ष लगभग सात महिनाको अवधिमा रु ३० लाख आम्दानी गरेका कृषि ज्ञान केन्द्रका एक अधिकारीले बताउनुभयो । मासिक चार लाख बराबरको निगुरो स्थानीयसँग सङ्कलन गरेर बजारमा लैजाने गरेको उहाँको उद्यमी महतोको भनाइलाई आधार मानेर उहाँले त्यति रकम आर्जन हुने अनुमान सुनाउनुभएको हो । ठूलो परिवारका भएका घरका स्थानीयले महिनामा रु एक लाखसम्मको निगुरो टिप्ने गरेका उद्यमी महतोले बताउनुभयो ।