एकै दिन बाजुराका थप ६२ जनामा कोरोना पुष्टि

  असार १४, २०७७

बाजुरा, असार १३ : एकै दिन बाजुराका थप नयाँ ६२ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट आएर विभिन्न क्वारेन्टाइन बसेका त्रिवेणीका ६२ जनामा कोरोना पुष्टि भएको हो । आरडीटी पोजिटिभ, कोभिड-१९ का शङ्कास्पद बिरामी तथा पीसीआर र आरडीटी पोजिटिभको सम्पर्कमा आएका ८१ जनाको गत असार ४ गते स्वाब सङ्कलन गरी परीक्षण गर्न प्रयोगशालामा पठाएको थियो ।

स्वाब सङ्कलन गरी पठाएको नाै दिनपछि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डाैँबाट त्रिवेणी नगरपालिकाकै ६२ जनाको रिपोर्टमा कोरोना पुष्टि भएकोे जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृण्ण पन्तले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना पुष्टि भएको ६२ जनामा ११ महिला र ५१ पुरुष रहेका छन् । उनीहरू सबै गत जेठ २९ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।’ यसभन्दा पहिला पनि ३८ जनामा कोरोना पुष्टि भएसँगै त्रिवेणीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय पुगेको छ । योसँगै बाजुरामा कोरोना सङ्क्रमितको सङ्ख्या १८९ पुगेको अधिकृत पन्तले बताउनुभयो ।

बुढीगङ्गा नगरपालिकाको –१ की दुई वर्षीया बालिकाको गत जेठ १९ गते कोरोनाकाले मृत्यु भएको र अन्य सबैको स्वास्थ्यमा भने सामान्य रहेको पन्तले बताउनुभयो । पीसीआर रिपोर्टमा पोजिटिभ देखिएकाहरूलाई सम्बन्धित पालिकाले निर्माण गर्दैआएका क्वारेन्टाइनको आइसोलेसनमा राखिएका छन् भने क्वारेन्टाइनबाट घर गएकाहरू होम क्वारेन्टाइनमा बस्दैआएका छन् । उनीहरूको स्वास्थ्य जाँचका लागि स्थानीय तहले स्वास्थ्यकर्मीलाई घरमा नै परिचालन गर्दैआएको पन्तले बताउनुभयो ।

तपाईको प्रतिक्रिया