रोपाइँमा गएका २१ बिरामी, १५ घर फर्किए, सात जनाको उपचार हुँदै

  असार १०, २०७७

बेनी, असार १० : बेनी नगरपालिका–१० वाखेतमा मङ्गलबार रोपाइँमा गएर घर फर्केपछि २१ जना बिरामी भएका छन् । वाखेतकी स्थानीय शर्मीला गर्बुजाको खेतमा धान रोप्न गएका रोपाहारहरू राति एक्कासि बिरामी परेका थिए ।

बिरामी परेकाहरूमध्ये १५ जनाको घतान स्वास्थ्य चौकी नेप्टेचौरमा सामान्य उपचारपछि राति नै घर फर्केको बेनी अस्पतालका सूचना अधिकृत प्रकाश सुवेदीले बताउनुभयो ।

त्यस्तै सात जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ । अवस्था खतरामुक्त रहेको भए पनि कुन प्रकारको पोइजनको मिसावट भएको भन्ने अहिलेसम्म खुल्न नसकेको समेत सुवेदीले बताउनुभयो ।

सिमी, सोयाबिन, चना मिसाइएकाे तरकारी खाएका मानिसहरू राति टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या देखिएपछि घतान स्वास्थ्य चौकीमा उपचारका लागि आएका थिए ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्सपेक्टर ध्रुव शर्माका अनुसार तरकारीमा प्रयोग भएको सोयाबिन पुरानो भएको कारण बिरामी परेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

तपाईको प्रतिक्रिया