काठमाडौँ, १७ साउन : मनाङ मर्स्याङ्दी क्लबले ललित स्मृति एन्फा यु–१८ यूथ लिग फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा मनाङले एपिएफलाई २–१ गोलले हरायो । मनाङको जितमा दर्शन अधिकारीले गोल गर्नुभयो । मनाङले अर्को गोल खेलको अन्तिममा एपिएफका अमन मोक्तानबाट आत्मघाती उपहार पाएको थियो ।
सोही गोल नै मनाङको जितमा निर्णायक बन्यो । एपिएफका लागि सुदीप सुनारले एक गोल फर्काउनुभयो । जितसँगै ६ खेलमा १५ अङ्क बनाएको मनाङ तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पराजित एपिएफको समान खेलबाट सात अङ्क छ ।