कपिलवस्तु विजयाेन्मुख, नरैनापुर मुक्त, नियन्त्रण उत्साहजनक

  असार ०८, २०७७

बुटवल, असार ७ : प्रदेश ५ को भारतसँग झण्डै चार सय किलोमिटर खुला सीमाना छ । त्योबाहेक यस प्रदेशबाट ठूलो सङ्ख्यामा भारतमा रोजगारीका लागि जाने पुरानो प्रचलन हाे जसले गर्दा भारतमा कोरोना सङ्क्रमण बढेसँगै वैशाखदेखि भारतबाट नेपाल आउने भीड एकैसाथ बढ्याे । व्यवस्थापन गर्न शुरुमा केही हम्मेहम्मे नै भयो ।

तर समयमै अपनाइएको सतर्कता, परीक्षणको फराकिलो दायरा, उपचार संयन्त्रहरूको तत्काल व्यवस्था,स्वास्थ्यकर्मीको साहस, सङ्क्रमितहरूको उच्च मनोबल, सीमा व्यवस्था र लकडाउनको पालनाजस्ता कारणले हटस्पटहरूसँगै प्रदेशभर कोरोनामाथि सफलता प्राप्त भइरहेको छ । प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बराल अहिले कोरोना नियन्त्रण प्रयास उत्साहजनक रुपमा बढेको र छिट्टै नै प्रदेश ५ ले विजय हासिल गर्ने बताउनुहुन्छ ।

यसरी विजयी बन्यो कपिलवस्तु

वैशाख २५ गतेसम्म शान्त रहेको कपिलवस्तुमा कोरोना सङ्क्रमणले एकाएक भयावह रुप लिन थाल्यो । वैशाख २२ गतेदेखि व्यवस्थापनमा चुनौती हुने गरी भारतबाट हुलका हुल नेपालीहरू भित्रिए । हेर्दाहेर्दै यो जिल्ला कोरोनाको हटस्पट भयो । सङ्क्रमितहरूको सङ्ख्या निरन्तर बढेर ७०३ पुग्यो । नियन्त्रण बाहिर जानै थालेको यही जिल्लाले देशभरलाई उत्साहको सञ्चार गर्दै कोरोनामाथि विजय हासिल गरिरहेको छ ।

किनभने सङ्क्रमितमध्ये आधाभन्दा धेरै अर्थात् ४८३ जना त निको भएर घर फर्किसकेका छन् । अरु ठूलो सङ्ख्याका सङ्क्रमितहरू पनि निको भएर घर फर्किने प्रतीक्षामा छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल भन्नुहुन्छ ‘यो जिल्लाले कोरोनामाथि छिट्टै विजय हासिल गरिरहेको छ ।’

यो जिल्लाले छोटो समयमै कोरोनामाथि विजय हासिल गर्नुका प्रमुख कारण हुन्, क्वारेन्टाइन र आइसोलसनहरूको पूर्वतयारी, शीघ्र परीक्षण, सङ्क्रमितहरूको आहारविहारमा सजगता । प्रजिअ पौडेलका भनाइमा जिल्लामा सङ्क्रमणको कुनै सङ्केत नदेखिँदै सबै स्थानीय तहहरूमा क्वारेन्टाइन बनिसकेका थिए । शुरुमा सङ्क्रमण देखिएकाहरूलाई बुटवल र दाङमा पहिल्यै बनेका कोरोना विशेष अस्पतालमा पठाइयो । पछि भने स्थानीय तहहरूमै बनाइएका आइसोलेसनमा राखेर सावधानी अपनाइयो ।

सङ्क्रमणपछि निको भएर घर फर्किसकेका कपिलवस्तुका एक पत्रकार जानु पाण्डेका अनुभवमा आइसोलेसनमा निकै राम्रो सुविधा थियो । रोग प्रतिरोधात्मक खानपिन, शारीरिक अभ्यास लगायतमा अति अनुशासन थियो ।

बाँकैको नरैनापुर एक महिनामै नियन्त्रणमा
प्रदेश ५ को झन् ठूलो हटस्पट बनेको बाँकेको नरैनापुर हाे । एक जनाको ज्यानै गएको र ११८ जनामा एकाएक सङ्क्रमण फैलिएको यहाँका सबै सङ्क्रमित कोरोनालाई जितेर घर फर्किसक्नुभयो । पहिलेको हटस्पट नरैनापुर अहिले कोरोनामुक्त भएको छ ।

जेठको पहिलो सातादेखि फैलिएको सङ्क्रमण एक महिनाभित्रै नियन्त्रणमा आएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुम्बाङका भनाइमा उच्च मनोबल र सबै पक्षको सक्रियताले सङ्क्रमणलाई शून्यमा झार्न सकिएको हो । सङ्क्रमण देखिनासाथ यहाँ निषेधित क्षेत्र घोषणा, सेनालाई सक्रिय बनाउनेदेखि पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र सङ्क्रमितहरूको उपचारमा तीव्रता दिइएको हो ।

प्रदेशमा कोरोना उच्च जोखिमको एक जिल्ला बाँकेमा नरैनापुरसँगै कोरोनामाथि विजय हासिलको शृङ्खला निरन्तर बढिरहेको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ३४२ जनामा सङ्क्रमण फैलिएको बाँकेमा १९५ जना कोरोनालाई जितेर घर फर्किसक्नु एको छ । यही जिल्लामा कोरोना सङ्क्रमित एक गर्भवती महिलाको सफल शल्यक्रियापछि स्वस्थ शिशुको जन्म भएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा.उमाशङ्कर चौधरीका अनुसार दुई हजार ४३७ जना सङ्क्रमित यो प्रदेशमा झण्डै ९३३ जना निको भएर घर फर्किसक्नुभएको छ । यो प्रदेशमा निको भएर घर फर्किने दर ४० प्रतिशत रहेको छ ।

आइसोलेसनको बसाइ अवधि पुगेका र अन्तिम रिपोर्ट कुरेका अरु धेरै जना पनि घर फर्किने तयारीमा हुनुहुन्छ । यो प्रदेशमा सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । आइतबार थप १४५ जनामा सङ्क्रमण देखिएको छ । झण्डै चार सय किलोमिटर खुल्ला सिमानाको जोखिमसँगै कोरोना सङ्क्रमणको उच्च दर रहेर पनि यो प्रदेशमा कोरोना नियन्त्रण अभियान उत्साहजनक तरिकाले सफल भइरहेको प्रदेश सामाजिक विकास मन्त्री सुदर्शन बरालको भनाइ छ ।

मन्त्री बरालका भनाइमा उच्च सतर्कता, परीक्षणको फराकिलो दायरा, उपचार संयन्त्रहरूको तत्काल व्यवस्था, स्वास्थ्यकर्मीको साहस, सङ्क्रमितहरूको उच्च मनोबल, सीमा व्यवस्था र लकडाउनको पालनाजस्ता कारणले हटस्पटहरूसँगै प्रदेशभर कोरोनामाथि सफलता प्राप्त भइरहेको हो । उहाँका भनाइमा सङ्क्रमण देखिनुअघि नै यहाँका सबै जिल्लाहरूमा ठूलो क्षमताका क्वारेन्टाइन, कोरोना विशेष अस्पतालहरू र प्रयोगशालाहरू बनाइएका थिए । शुरुमा परीक्षण किटको अभाव देखिए पनि तत्कालै व्यवस्था गरेर परीक्षणको दायरा विस्तार गरिएको थियो । 

त्यस्तै, रोग प्रतिरोधी औषधि वितरण, नियमित र स्वस्थ्य खानपान, शारीरिक अभ्यास, मनोविमर्श, व्यवस्थित रेखरेदका कारण पनि धेरैले कोरोनालाई पराजित गरिरहेको उहाँले बताउनुभयो ।
प्रदेशमा सबैभन्दा चुनौतीका रुपमा खुल्ला सीमा र लुकीछिपी प्रवेश रहेको थियो । पछिल्लो पटक प्रदेश सरकारले एक जिल्लामा एक मात्र नाका प्रयोग गर्ने रणनीति लिएको थियो ।

यो प्रदेशमा चार वटा कोरोना विशेष अस्पताल, ९९ वटा आइसोलेसन सेन्टर सञ्चालनमा छन् भने एक हजार ८१६ स्थानमा ६१ हजार ६२८ बेड क्षमताका क्वारेन्टाइनहरू छन् । अहिले प्रदेशका सबै जिल्लाहरूमा २३ हजार ४० जना क्वारेन्टाइनमा बस्नुभएको छ । त्यस्तै, अहिले एक हजार ३५० जनाको आइसोलेसनहरूमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया