तम्घास, असार ६ : गुल्मीमा पहिरोमा गुडिरहेको जीप पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नं ३ को हाडहाडेदेखि धनमुढा जाने क्रममा ग १ ज ३९९७ नं. को जीप चुना ओडारमा माथिबाट आएको पहिरोले पुरिएको हो ।
पहिरोमा परी हाडहाडेका अन्दाजी १८ वर्षका तुलसीराम काउछाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।पहिरोमा परी सोही स्थानकै जीप चालक अन्दाजी २० वर्षका प्रदीप पुन र २५ वर्षका रमेश राना गम्भीर घाइते भएका छन । घाइतेहरूको उपचारका लागि अर्घाखाँची पठाइएको प्रहरीले जनाएको छ ।
जीपमा सवार अन्य तीन जनालाई सामान्य चोट लागेकाले उनीहरूलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गरी घर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।