सुर्खेत, असार ६ : कर्णालीमा शनिबार ४५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । नयाँ थपसँगै कर्णालीमा कुल सङ्क्रमितको सङ्ख्या एक हजार २४५ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो ३.०० बजे जारी गरेको सूचनामा प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा २० जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरेको परीक्षणमा २६ गरी कुल ४६ जना नयाँ सङ्क्रमित फेला परेको जनाएको छ ।
नयाँ थपमध्ये सल्यानमा २६ जना, दैलेखमा १९ जना र जाजरकोटमा एक जना रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले नयाँ सबै सङ्क्रमितहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो । योसँगै कर्णालीमा सबैभन्दा धेरै सङ्क्रमित दैलेखमा देखिएको छ ।
मन्त्रालयका अनुसार दैलेखमा ७०९ जना पुगेको छ । त्यसपछि सुर्खेतमा २७७ जना, सल्यानमा १६३ जना, कालीकोटमा ४२, जुम्लामा जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा दुई र हुम्ला तथा डोल्पामा एक/एक जना सङ्क्रमित फेला परेका छन् । रुकुम पश्चिममा हालसम्म सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशका १६ जना फेला परेका छन् ।
पुरुष ११३४, महिला १०२ जना
कर्णालीमा कुल कोरोना सङ्क्रमितहरूमा सबैभन्दा धेरै पुरुष देखिएका छन् । कुल एक हजार २४५ जनामध्ये पुरुषको सङ्ख्या एक हजार १४३ रहेको छ भने महिलाको सङ्ख्या १०२ जना रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
कुल ५१६ जना डिस्चार्ज
कर्णालीमा अहिलेसम्म ५१७ जनाले कोरोना जितेर डिस्चार्ज भई घर फर्किएका छन् । मन्त्रालयका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, दैलेख अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अन्य स्वास्थ्य संस्थाबाट हालसम्म ५१७ जना सङ्क्रमितहरू निको भएर घर फर्किएका हुन् । शनिबार मात्रै नौ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
चार जनाको मृत्यु
कोरोना सङ्क्रमणबाट अहिलेसम्म कर्णालीमा चार जनाको मृत्यु भएको छ । गत जेठ ५ गतेदेखि कर्णालीमा कोरोना देखिन सुरु भएको र हालसम्म सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेख तथा डोल्पाका एक/एक जना रहेका छन् ।