काठमाडौँ, ३२ जेठ : नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ ।
आज एक कार्यक्रमका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बीच उद्घाटन गर्दै नेपालको पर्यटनलाई विश्वभर प्रवर्द्धन गर्न मेला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस वर्ष पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गरी कम्तीमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा गर्न मन्त्रालय प्रतिबद्धताका साथ लागेको उल्लेख गर्नुभयो ।
सन् २०२३ मा १० लाख पर्यटक नेपाल आएकामा सन् २०२४ मा कम्तीमा १६ लाख भित्र्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको पर्यटनमन्त्री तामाङले जानकारी दिनुभयो । पर्यटन क्षेत्रमा पहिले लगाउँदै आइएको हवाई टिकटमा भ्याट र अन्य केही अनावश्यक कर हटाउने काम भइरहेको जनाउँदै उहाँले पर्यटन प्रवर्द्धनका लागि विद्यमान समस्या बजेट पास हुनुअघिनै समाधान गरिने प्रस्ट पार्नुभयो ।
पर्यटनमन्त्री तामाङले पर्यटन क्षेत्रले ब्यहोरिरहेको समस्या समाधान गर्न, यस क्षेत्रको विकास र प्रवर्द्धनका लागि विभिन्न करहरु हटाउने कुरामा सरकारले पहल गरिरहेको भन्दै यसबारे यथाशीघ्र सम्बोधन गरिने बताउनुभयो । विश्व पर्यटन बजारमा सूचीमा नेपाल घुम्नैपर्ने गन्तव्य भएकाले पर्यटकीय सम्भावना भएका क्षेत्रमा पूर्वाधार निर्माणलगायत काम सरकारले सुरु गरिसकेको जानकारी दिनुभयो ।
पर्यटन क्षेत्रको विकासले मुलुकलाई समृद्धतर्फ लैजाने आधार तयार पार्ने हुँदा यस क्षेत्रमा काम गर्दै आइरहेका सङ्संस्थासँग सहकार्य गरेर सरकारले काम गर्ने लक्ष्य लिएको मन्त्री तामाङले उल्लेख गर्नुभयो ।
अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी छन् । मेलामा रु एक करोडभन्दा बढी खर्च हुने आयोजक समिट इभेन्ट्स मार्केट्सले जनाएको छ ।
समिट इभेन्ट्स मार्केट्सका प्रबन्ध निर्देशक एवं मेलाका संयोजक विष्णु पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको बताउनुभयो । नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाको मुख्य सहयोग रहेको उक्त मेलामा एक हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालले अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसर सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । भृकुटीमण्डपमा आयोजित मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायीको सहभागिता रहेको छ । मेला भोलिसम्म सञ्चालन हुनेछ ।