काठमाडौँ, २६ जेठ : काठमाडौँको नक्सालमा जारीे ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा आजसम्म करिब २० हजार जनाले अवलोकन गरेका छन् ।
आयोजक नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले हालसम्म करिब २० हजारले कला प्रदर्शनी अवलोकन गरिसकेका र यो क्रम जारी रहेको जानकारी दिनुभयो । उहाँले प्रदर्शनीमा राजनीतिज्ञ, कलाकार, साहित्यकार, लेखक, वुद्धिजिवी, समाजसेवी, सर्वसाधारण तथा विद्यार्थीहरूले अवलोकन गर्ने क्रम जारिरहेको बताउनुभयो ।
हालसम्म ४० भन्दा बढी विद्यालयका विद्यार्थीहरूले कला प्रदर्शनी अवलोकन गरेका उहाँले बताउनुभयो । “कुनै दिन पाँच-छवटा विद्यालयबाट विद्यार्थी प्रदर्शनी अवलोकनका लागि आउने गरेका छन्, समग्रमा यसपालि विगतका भन्दा बढी रौनक देखिएको छ”, थुम्केलीले भन्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यसपटक प्रतिष्ठानले काठमाडौँका दर्जनौँ स्कुलमा शिक्षामा सीप कार्यक्रम सञ्चालन गरेकाले विद्यार्थीको आकर्षण थपिएको बताउनुभयो । “यो कला प्रदर्शनीलाई नेपालमा कला क्षेत्रको सबैभन्दा ठूलो उत्सवका रूपमा हेरिने गरिएको छ । ललिलकलाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न मुलुकमै पहिलोपटक प्रादेशिक ललितकला प्रदर्शनी गरी त्यस प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृति यसपालिको राष्ट्रिय ललितकला प्रदर्शनीमा राखिएका छन्, त्यसैले पनि यो महत्वपूर्ण छ”, कुलपति हार्तम्छालीले भन्नुभयो ।
प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामा प्रतिष्ठानको कला प्रवर्द्धनका लागि स्थापनाकालदेखि नै प्रदर्शनी हुँदै आएकामा विद्यार्थीको आकर्षण थपिँदा प्रदर्शनीको औचित्य थप बढेको बताउनुहुन्छ ।
‘सामाजिक रूपान्तरण, ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ यही जेठ १५ गतेबाट प्रदर्शनी सुरु भएको थियो । प्रदर्शनी यो महिनाभर चल्ने छ । प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ कलाकृति राखिएका छन् ।