गण्डकी प्रदेशस्तरीय फुटबलमा तनहुँको विजयी सुरुआत

  जेठ २५, २०८१

कास्की, २५ जेठ : पोखरा रङ्गशालामा आजदेखि सुरु गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा तनहुँले ३–० गोलले गोरखालाई पराजित गर्दै विजयी सुरुआत गरेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल सङ्घको व्यवस्थापनमा सुरु भएको प्रतियोगिता यही जेठ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लामध्येमा मुस्ताङबाहेक १० जिल्लाको सहभागिता रहेको छ ।

उद्घाटन खेलमा तनहुँलाई सहज जित दिलाउने क्रममा खेलमा पहिलो गोल शान्ताबहादुर गुरुङले २०औँ मिनेटमा गरे । खेलको पहिलो हाफमा गोरखाविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको तनहुँले खेलको २३औँ मिनेटमा दोस्रो गोल थप्यो । तनहुँका लागि राम थापाले गोल गरे । तेस्रो गोल पहिलो हाफकै ३१औँ मिनेटमा जिवेश आलेमगरले गरे । गोरखाले खेलमा फर्किन अन्तिमसम्म प्रयास गरे पनि सफल हुन सकेन ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले गण्डकीमा फुटबल खेल विकास र नयाँ प्रतिभा पहिचानका लागि प्रतियोगिता सफल हुने बताउनुभयो ।

‘नकआउट’का आधारमा सञ्चालन हुने प्रतियोगिताअन्तर्गत शनिबार चार खेल सञ्चालन हुनेछन् जसअन्तर्गत पहिलो खेलमा म्याग्दीले स्याङ्जाको सामना गर्नेछ भने दोस्रो खेल कास्की र नवलपुर, तेस्रो खेल पर्वत र बागलुङबीच हुनेछ भने चौथो तथा अन्तिम खेलमा लमजुङले तनहुँको सामना गर्ने गण्डकी प्रदेश फुटबल सङ्घका महासचिव विनोद गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताबाट दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुनेछन् ।

तपाईको प्रतिक्रिया