भैरहवा, असार २ : भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २६ जना डिस्चार्ज भएका छन् । गत जेठ १९ र २० गते आइसोलेशन वार्डमा भर्ना भएका २७ मध्ये २६ जनालाई मङ्गलबार डिस्चार्ज गरिएको भीम अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताउनुभयो । चाैध दिन आइसोलेसनमा बसेका २७ जनामध्ये एकजना बाहेक अन्य बिरामीहरूमा कोरोना (कोभिड–१९) सम्बन्धी लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको उपाध्यायले जानकारी दिनुभयो ।
एक जनामा अझैँ ज्वरो देखिएकाले डिस्चार्ज गर्न नसकिएको उहाँले बताउनुभयो । अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालका अनुसार डिस्चार्ज हुनेहरु १९ वर्षदेखि ७० वर्ष उमेरका छन् । डिस्चार्ज हुनेहरूमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला, ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष, मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, कपिलवस्तुको वाणगङ्गा नगरपालिकाका ३३, ४१ वर्षीया महिला, बुद्धभुमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षीय पुरुष, शिवराज नगरपालिकाका २४ वर्षीया महिला, नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावलका गाउँपालिका २६ वर्षीय पुरुष रहेका छन् । डिस्चार्ज भएकालाई मङ्गलबार अस्पतालले बिदाइ गरेको छ । यसअघि निको भएका २५ जना कोरोना सङ्क्रमितलाई अस्पतालले जेठ १९ गते डिस्चार्ज गरेको थियो ।