कलाकार भन्छन्- रियल थेरापी शारीरिक र मानसिक तनाव कम गर्ने उपयुक्त थलो

  जेठ ०३, २०८१

काठमाडौँ, ३ जेठ : व्यस्त दैनिकी र अव्यवस्थित जीवनशैलीले विशेष गरी सहरी जीवन अस्तव्यस्त बनिरहेको छ । काम विषेशले मानिसले शरीरको ख्याल गर्नसमेत नभ्याउने अवस्था छ । यसैबिच शारीरिक र मानसिक तनाव कम गराउने उद्देश्यले मुलुकको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा आठ करोड लागतमा रियल थेरापी तथा ब्यूटी प्वाइन्ट सञ्चालनमा आएको छ ।

ठमेल पर्यटन विकास परिषदका अध्यक्षसमेत रहनुभएका पर्यटन व्यवसायी भविश्वर शर्माले अत्याधुनिक सुविधा सम्पन्न रियल थेरापी सञ्चालनमा ल्याउनुभएको छ । ठमेलमा विगत २२ वर्षदेखि रियल थेरापी सञ्चालन गर्नुभएका शर्माले आधुनिक संरचनासहित थप सुविधासहित रियल थेरापी सुरु गर्नुभएको हो ।

चारतले सुविधायुक्त भवनमा सञ्चालित रियल थेरापीको आज एक कार्यक्रमबिच कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, स्वस्तिमा खड्का, निर्मल शर्मा र काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले संयुक्तरुपमा उदघाटन गर्नुभयो । अत्याधुनिक संरचनासहित पारिवारिक वातावरणमा सञ्चालन भएको रियल थेरापी स्वास्थ्य पर्यटनको महत्वपूर्ण आधार भएको कलाकारहरुले बताउनुभयो ।

व्यस्त जीवनशैलीका मानिसलाई शारीरिक आनन्द र तनावमुक्त बनाउन रियल थेरापी सान्दर्भिक हुने उनीहरुको बुझाइ छ । कलाकार दीपाश्री निरौलाले रियल थेरापी तनाव विसर्जन गर्ने उपयुक्त ठाउँ भएको उल्लेख गर्नुभयो । “रियल थेरापी तनाव विसर्जन गर्ने ठाउँ हो, यहाँ महिला, पुरुष र जोडी तथा परिवारका सदस्यका लागि छुट्टै व्यवस्था भएकाले यसको महत्व र सान्दर्भिकता बढेको छ”, उहाँले भन्नुभयो । “आजकाल स्वास्थ्यप्रतिको सचेतनालाई ख्याल गर्दैनन् शारीरिक थकान र तनाव कम गर्न रियल थेरापीजस्ता गन्तव्य उपयुक्त हुन्छन्”, कलाकार दीपकराज गिरीले भन्नुभयो, “रियल थेरापीजस्ता आयुर्वेदिक उपचार पद्धत्तिमा आधारित सेवाले मानिसलाई स्वस्थ्यकर बनाउन मद्दत पुग्छ ।”

हास्य कलाकार मनोज गजुरेलले सभ्य र भव्यरुपमा पारिवारिक वातावरणमा खुलेको रियल थेरापी पर्यटकको गन्तव्यका रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो । “हामीले बेच्न सक्ने भनेको पर्यटन, कला र संस्कृति नै हो”, उहाँले भन्नुभयो, “हामी पनि हास्य थेरापीमै काम गर्छौ, हास्य थेरापीले मानिसको मनलाई सन्तुलित, आनिन्दत र स्वस्थ्य बनाउछ ।”

नायिक स्वस्तिमा खड्काले स्पा शारीरिक थेरापी मात्रै नभएर मानसिक थेरापी पनि भएकाले व्यस्त जीवनबाट फुर्सद मिलाएर स्वस्थ्यकर जीवनका लागि पनि रियल थेरापी अपरिहार्य भएको बताउनुभयो । महानगरपालिका–२६ का वडा अध्यक्ष तिवारीले पर्यटकीय नगरी ठमेलमा नयाँ भवनमा भव्य संरचनासहित पारिवारिक वातावरणमा खुलेको रियल थेरापी स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बन्नेमा विश्वास व्यक्त गर्नुभयो ।

रियल थेरापीका सञ्चालक शर्माले विगत २२ वर्षदेखि पारिवारिक वातावरणमा सञ्चालन हुदैँ आएको पहिलो स्पा भएको दाबी गर्नुभयो । फ्यामेली स्पा, महिला र पुरुष स्पा छुट्टाछुट्टै छ । अन्तर्राष्ट्रिय स्तरको आधुनिक सेवा सुरु गरिएको व्यवसायी शर्माले बताउनुभयो । स्पा पछिल्लो समय वैकल्पिक उपचारको माध्यम पनि बनिरहेको छ । नेचुरोपेथी, आयुर्वेद र पञ्चकर्मका रुपमा लिइन्छ ।

आयुर्वेद चिकित्साको निगरानीमा सबै खालका मानिसलाई मध्यनजर गरेर ‘हेल्ट प्याकेज’ बनाइने शर्माको भनाइ छ । रियल थेरापीमा साउन स्टिम, जाकुजी, युनिसेक्स सलुनलगायत सेवा पाइन्छ । एक पटकमा ४५ महिला र ६५ पुरुषलाई सेवा दिने गरी रियल थेरापीको संरचना विस्तार गरिएको छ । रियल थेरापीलाई आगमी दिनमा चेनको रुपमा विस्तार गर्ने योजना रहेको शर्माको भनाइ छ । (रासस)

तपाईको प्रतिक्रिया