नेपाल-भारतबीच अत्यन्त घनिष्ठ सम्बन्ध थियो र रहिरनेछ : भारतीय सेना प्रमुख

  जेठ ३१, २०७७

नयाँदिल्ली, : भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहेने बताएका छन् ।भारतले लिपुलेक क्षेत्रमा एकतर्फी ढंगले गरेको सडक निर्माणको विरोध नेपालले विदेशीको इसारामा गरेको भन्ने विवादास्पद टिप्पणी गरेका भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले आफ्नो यसअघिको भनाइलाई केही सच्याउँदै नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको र भविष्यमा पनि रहिरहने बताएका हुन् ।

देहरादुनस्थित भारतीय सैनिक एकेडेमीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतबीचको पछिल्लो सीमा विवादलाई लिएर राखेको जिज्ञासामा नरवणेले त्यस्ता धारणा राखेका हुन् । ‘हामीहरुको नेपालसँग अत्यन्त घनिष्ट सम्बन्ध छ । हामीहरुबीच भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र परम्परागत सम्पर्क छ । जनस्तरमा पनि त्यत्तिकै बलियो सम्पर्क छ । हामीबीचको सम्बन्ध सधैँ बलियो रहँदै आएको छ र भविष्यमा पनि रहिरहनेछ,’ भारतीय नवरवणेलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि जेठ २ मा भारतीय सेनाप्रमुख मनोजमुकुन्द नरवणेले चीनतर्फ संकेत गर्दै सीमासम्बन्धमा यसअघि कुनै विवाद नरहेकोमा नेपालले ‘अरु कसैको इसारामा’ विरोध गरेको बताएका थिए । नयाँदिल्लीस्थित सुरक्षा तथा रणनीतिक मामिलाको सरकारी थिंकट्यांक मनोहर पारेकर रक्षा अध्ययन तथा विश्लेषण संस्थान (एमपीआईडीएसए) ले गरेको वेबनारमा नरवणेले त्यस्तो भनाइ राखेका थिए ।

नरवणेको उक्त टिप्पणीप्रति नेपाल सरकार र जनस्तरबाट समेत कडा विरोध हुँदै आएको छ । यता भारतमा पनि त्यसप्रति असन्तुष्टि व्यक्त गरिएको थियो । भारतीय सेना प्रमुख नेपाली सेनाका समेत मानार्थ जनरलसमेत रहने परम्पराका कारण पनि दुई देशबीचको विवादित मुद्दामा नरवणेले अनावश्यक रुपमा टिप्पणी गरेको भन्दै आलोचना भएको थियो ।

भारतले २६ वैशाख नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्रयाकको उद्घाटन गरेयता नेपाल र भारतबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । भारतका रक्षामन्त्री राजनाथ सिंहले वैशाख २६ गते भिडियो कन्फरेन्समार्फत् पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर सडकको उद्घाटन गरेका थिए ।

यसबीच नेपालले सन् १८१६ को सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरासम्मको भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरिसकेको छ । सार्वजनिक नयाँ नक्साअनुरुप निसान छापमा परिमार्जन गर्नका लागि शनिबार संविधान संशोधन हुने कार्यक्रम छ । संविधान संशोधन सर्वसम्मतिले पारित हुने भएको छ । संविधान संशोधनप्रति विशेष चासो राखिरहेको भारतले नेपालले सार्वजनिक गरेको नक्सा आफूलाई आमान्य हुने बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया