कोरोनाको कारण भारतीय क्रिकेट टोलीको श्रीलङ्का र जिम्बाबवे भ्रमण रद्द

  जेठ ३१, २०७७

काठमाडौँ, जेठ ३० : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले श्रीलङ्का र जिम्बाबवे भ्रमण रद्द गरेको छ । श्रीलङ्का भ्रमण निलम्बन गरेको बोर्डको शुक्रबार बसेको बैठकले जिम्बाबवे भ्रमण रद्द गर्ने निर्णय गरेको हो ।

भारतीय क्रिकेट टोलीले जुन २२ देखि श्रीलङ्का भ्रमणको तालिका तय गरिएको थियो । जुन २४ मा सुरु हुने गरी तीन म्याचको एक दिवसीय श्रृङ्खला र अगष्ट २२ मा सुरु हुने गरी जिम्बाबवेविरुद्धको तीन म्याचको एकदिवसीय श्रृङ्खला र टी ट्वान्टी खेल्ने तय थियो । बोर्डले कोरोनाभाइरसको जोखिमका बीच श्रीलङ्का र जिम्बाबवे भ्रमण रद्द गर्ने निर्णय गरेको जनाएको छ ।

बाहिर सुरक्षित रुपमा खेल्नसक्ने वातावरण बने लगत्तै बोर्डमा आबद्ध खेलाडीलाई बन्द र खुला प्रशिक्षण सुरु हुने बीसीसीआईले जनाएको छ । बीसीसीआईले जारी गरेको वक्तब्यमा अवस्था सुधार भए लगत्तै अन्तर्राष्ट्रिय क्रिकेट सुरु हुने उल्लेख गरेको छ ।

कोरोनाभाइरसको सङ्क्रमणले आगामी अक्टोबर १८ देखि नोभेम्बर १५ सम्मका लागि निर्धारित टी ट्वान्टी विश्वकपको तालिका समेत जोखिममा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले विश्वकप निर्धारित तिथिमै सम्पन्न गर्न विकल्पहरूमाथि छलफल भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया