महेन्द्रनगर (कञ्चनपुर), २४ चैत : सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको आयोजनामा आजदेखि कैलालीको धनगढीमा यु–१३ छात्र÷छात्रा खेलाडी छनोट सुरु भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले युवा विकास परियोजनालाई निरन्तरता दिन प्रदेश स्तरीय खेलाडी छनोट थालेको सङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।
“सुदूरपश्चिमका नौवटै जिल्लाबाट ८८ खेलाडी छनोट भएर आएका छन्,” उहाँले भन्नुभयो–“ती मध्येबाट छनोटमा पर्ने खेलाडीलाई एन्फा एकेडेमीमा भर्नाका लागि दोस्रो चरणको छनोटमा सहभागी गराइने छ ।” आज र भोली छात्र खेलाडी तथा सोमबार छात्रा खेलाडी छनोट गरिने उहाँले जानकारी दिनुभयो ।
मुलुकभरबाट छनोट भएर आउने खेलाडीलाई समेटेर एन्फाले विभिन्न एकेडेमी सञ्चालन गर्नेछ । अन्तिम छनोटमा परेका खेलाडीको सम्पूर्ण व्यवस्थापनसहित एन्फाले राष्ट्रिय टोलीका लागि बन्द प्रशिक्षण सञ्चालन गर्ने प्रदेश अध्यक्ष श्रेष्ठले बताउनुभयो ।