झापामा बुधबार एकसाथ पाँच कोरोना सङ्क्रमित

  जेठ २८, २०७७

बिर्तामोड, जेठ २८ : झापामा बुधबार एकसाथ पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । उनीहरू सबै भारतका विभिन्न स्थानबाट नेपाल आई क्वारेन्टाइनमा बस्दैआएका हुन् । पाँच जनामध्ये चार पुरुष र एक जना महिला रहेका झापाका महामारी फोकल पर्सन जीवन चम्लगाईंले बताउनुभयो ।

झापाको कनकाई नगरपालिकाको कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहँदैआएका ३५, १६ र १७ वर्षीय पुरुष, गौरादह नगरपालिका-९ निवासी २२ वर्षीया एक महिला तथा मेचीनगरको बलभद्र माविको क्वारेन्टाइनमा रहेका मेचीनगर निवासी ३७ वर्षीय एक पुरुषमा पीसीआर रिपार्ट पोजिटिभ देखिएको चम्लगाईंले बताउनुभयो । उनीहरूको विराटनगरमा पाँच दिन पहिले लगिएको स्वाब जाँच गरिएको थियो ।

कोरोनाकाे पीसीआर परीक्षण ढिलो आउँदा कनकाई नगरपालिकास्थित कनकाई बहुमुखी क्याम्पसमा सँगै राखिएका अन्य १९ जनालाई समेत थप १४ दिन पुनः क्वारेन्टाइनमा राख्नुपरेको कनकाई स्वास्थ्य शाखा प्रमुख ब्रजेश महेत्ताले बताउनुभयो ।

कनकाईका तीन जना सङ्क्रमित नगरका पहिलो सङ्क्रमित हुन् । उनीहरूसहित ७० जनाको समूह गत जेठ ९ गते झापाको अवैध नाका झापा गाउँपालिकाको लसुना हुँदै झापा प्रवेश गरेका थिए ।

यो कोरोना पुष्टि भएसँगै झापाका १५ स्थानीय तहमध्ये १३ तहमा कोरोना फैलिँदा १५३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया