नेपालको आर्थिक वृद्धि १.८ प्रतिशत मात्रै : विश्व बैंक

  जेठ २८, २०७७

काठमाडौँ, जेठ २८ : विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत मात्रै हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले गरेको यो अनुमान तथ्यांक विभागले गरेको प्रक्षेपणभन्दा कम हो ।

आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै तथ्यांक विभागले चालु आवमा २.२८ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । विश्व बैंकको प्रक्षेपण विभागको भन्दा शून्य दशमलव ४८ विन्दु प्रतिशत कम हो । विश्व बैंकले जारी गरेको ग्लोबल इकोनमिक प्रस्पेक्ट प्रतिवेदनअनुसार दक्षिण एसियामा कोरोना महामारीका कारण पर्यटकको संख्यामा उल्लेख्य कमी आउने भएकाले माल्दिभ्स र नेपाल सबैभन्दा बढी प्रभावित हुनेछन् ।

कोभिड महामारीका कारण दक्षिण एसियामा सबैभन्दा बढी माल्दिभ्सको अर्थतन्त्र प्रभावित हुने विश्व बैंकले जनाएको छ । विश्व बैंकको प्रक्षेपणअनुसार माल्दिभ्सको अर्थतन्त्र चालु आवमै १३ प्रतिशत विन्दुले ऋणात्मक हुनेछ । अफगानिस्तान, श्रीलंका र पाकिस्तानको अर्थतन्त्र पनि ऋणात्मक हुने विश्व बैंकको आकलन छ ।

यीमध्ये पाकिस्तानको अर्थतन्त्र आगामी वर्ष पनि नकारात्मक रहने विश्व बैंकको प्रक्षेपण छ । भारतले चालु आवमा ४.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने भए पनि आगामी वर्ष उसको अर्थतन्त्र ३.२ विन्दुले नकारात्मक हुने विश्व बैंकले जनाएको छ । विश्व बैंकले आगामी वर्षमा समेत २.१ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने बताएको छ । अर्थमन्त्री युवराज खतिवडाले जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमा आगामी वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशत हुने भनिएको थियो ।

तपाईको प्रतिक्रिया