पोखराका होटलमा क्वारेन्टाइन ३६ होटलले बुझाए प्रस्ताव

  जेठ २७, २०७७

पोखरा, जेठ २७ : पोखराका होटललाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू सहमत भएका छन् । त्यसका लागि पश्चिमाञ्चल होटल सङ्घले पोखरा महागनरमा क्वारेन्टाइन बनाउन होटलहरूको सूचीसहितको प्रस्ताव पोखरा महागनरपालिका समक्ष प्रस्तुत गरेको छ ।

सरकारले विदेशमा अलपत्र नेपालीलाई ल्याउने निर्णय गरेअनुरूप पोखरा महानगरले पोखराका होटलहरूलाई क्वारेन्टाइन बनाउने योजनाअनुसार होटल व्यवसायीसँग छलफल गरी प्रस्ताव मागेको थियो ।

कोरोना विषाणु सङ्क्रमण नियन्त्रण तथा रोकथाम समितिका संयोजक एवं पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ समक्ष पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष तुलाचनले ३६ वटा होटलको नाम क्वारेन्टाइनका लागि बुझाउनुभएको हो । अन्यत्र व्यवस्थापन गर्न सकिने उपाय भए होटल प्रयोग नगर्दा राम्रो हुन्छ, नाम बुझाउँदै उहाँले भन्नुभयो, “स्थानीयको आवाज हेर्दा होटलभन्दा अन्य विकल्प छ भने प्रयोग नगरौँ नत्र सुरक्षाको प्रत्याभूति गर्नुपर्छ ।”

महानगरले सङ्घीय सरकारले विदेशबाट उद्धार गरी ल्याउनेहरूलाई राख्न महानगरले होटललाई सेल्फ पेड क्वारेन्टाइन बनाउने गरी होटल व्यवसायीसँग प्रस्ताव मागेको थियो । महानगरले कम्पाउन्ड भएको, होटल सञ्चालक अन्यत्र बसोबास गर्ने र अर्को घरसँग नजोडिएको हुनुपर्नेलगायतका मापदण्ड तय गरेको छ । महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले सुरक्षाका सबै उपाय अपनाउने भएकाले त्रसित हुनुपर्ने अवस्था नभएको बताउनुभयो ।

महानगर उपप्रमुख गुरुङले पश्चिमाञ्चल होटल सङ्घमार्फत र सात होटलले सीधै महानगरमा प्रस्ताव पेस गरेको जानकारी दिनुभयो । पाँच हजार बेडको खोजीमा लागिपरेको महानगरमा झन्डै दुई हजार बेडका लागि प्रस्ताव आएको छ ।

“एक साताअघि प्रस्ताव आह्वान गरिएकामा ३६ होटलको प्रस्ताव आएको छ । त्यसमा एक हजार १६३ कोठा छन् । त्यसमा एक हजार ९५० बेड छन्,” महानगरका सूचना अधिकारी भरतराज पौडेलले भन्नुभयो । महानगरमा प्राप्त होटलका नाम प्रमुख जिल्ला अधिकारीकहाँ पठाइनेछ । बुझाएको रेटसहितको प्रस्ताव प्रजिअको बैठकमा राखिनेछ । बैठकले निर्णय गरेर होटलहरूको नाम सार्वजनिक गरिनेछ ।

विभिन्न स्तरका होटलले दैनिक तीन हजारदेखि नौ हजारसम्म खर्च हुनेगरी प्रस्ताव पेस गरेका छन् ।विदेशबाट आउने सबैले क्वारेन्टाइन बसाइ खर्च स्वयं बेहोर्नुपर्ने छ । एक्लै र दुई जनासँगै बस्दा छुट्टाछुट्टै मूल्य प्रस्ताव गरिएको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । होटल सङ्घमार्फत महानगरमा पुगेको प्रस्तावमा न्यूनतम तीन हजारदेखि अधिकतम आठ हजार रुपियाँ तोकिएको छ ।

“दुई छाक खाना र दुई छाक खाजा गरेर एउटा कोठामा एक्लै बसे प्रतिव्यक्ति दैनिक तीन हजार पर्छ । दुई जना बस्दा एक जनाको भागमा दुई हजार हुनेछ । न्यूनतम तीन हजारदेखि आठ हजारसम्मका कोठा छन्,” अध्यक्ष तुलाचनले भन्नुभयो । सोभन्दा माथि प्रतिव्यक्ति दैनिक चार हजार पर्ने कोठा पनि रहेको उहाँले जानकारी दिनुभयो ।

एक जना व्यक्ति १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । महानगरमा बुझाइएको रेटअनुसार १४ दिन क्वारेन्टाइनमा बस्दा एक्लै बसे दैनिक तीन हजारका दरले ४२ हजार र दुई जना एउटै कोठामा बसे दैनिक दुई हजारका दरले २८ हजार रुपियाँ खर्च हुनेछ । 

तपाईको प्रतिक्रिया