५ लाखभन्दा कम मूल्यको सहायता स्वास्थ्य मन्त्रालयले नलिने

  जेठ २५, २०७७

काठमाडौं, जेठ २५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहायता मापदण्ड तयार गरी ५ लाखभन्दा कम रकम बराबरको सहायता सामग्री नलिने भएको छ ।

कोभिड १९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विभिन्न दात्री निकाय/सहयोगी निकायहरुले प्रदान गर्ने सहायता सामग्री समबन्धी न्युनत्तम मापदण्ड, २०७७ जारी गरी यस्तो निर्णय गरेको हो ।

नयाँ मापदण्ड अनुसार सहायता सामग्री प्रदान गर्ने निकायले जुन प्रयोजनको लागि सहायता गर्ने हो त्यसको पूर्ण सेट नै उपलब्ध गराउनुपर्ने छ ।

त्यसैगरी सहायता सामग्री मापदण्डमा सहायता सामग्रीको गुणस्तर नेपाल सरकारको गुणस्तर नियामक निकाय (गुणस्तर तथा नापतौल विभाग या औषधि व्यवस्था विभाग)बाट गुणस्तर प्रमाणित भएको हुनुपर्ने छ ।

नेपालभित्रको गुणस्तर निकायले गुणस्तर प्रमाणित गर्न नसक्ने अवस्थामा उत्पादक देशको गुणस्तर प्रमाणित गर्ने निकायले गरेको हुनुपर्छ ।

दाताले दिएको सामग्रीको वारेन्टी अवधिभरको रिपियर र मेन्टेनेन्स तथा सञ्चालन गर्न सामग्री लिने संस्थाको कर्मचारीलाई अभिमुखीकरण प्रदान गर्ने प्रतिवद्धता नै गर्नुपर्ने उल्लेख छ ।

साथै नेपालभित्र मर्मत सम्भार गर्न नसकिने सामग्री भएमा सामग्रीको वारेन्टी अवधिभित्रको मर्मत सम्भार कार्य सहयोगी निकायले नै गराउनुपर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया