भैरहवा (रुपन्देही), १ माघ : यहाँ जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । आज भएको खेलमा ब्याटर शेर मल्लको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ५८ रन मात्रै बनाउनसक्यो । लुम्बिनीका लागि प्रज्जवल थापाले ६८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाए भने मोहम्मद हुसेनले २६ रन र विराट भण्डारीले २३ रन बनाउनुभयो ।
सुदूरपश्चिमका लागि नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र नरेन साउदले समान दुई-दुई विकेट लिए । एक सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ दशमलव तीन ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसका लागि शेर मल्लले अविजित ४२ रन र नारायण जोशीले २८ रन जोड्नुभयो ।
साथै ओपनरद्वय खडक बोहराले २१ र टेक रावतले १८ रन बनाए । लुम्बिनीका लागि अभिशेष गौतमले तीन विकेट लिए भने कृष्ण कार्की र अजय चौहानले समान एक-एक विकेट लिए । सुदूरपश्चिमका नारायण जोशी प्लेयर अफ द म्याच घोषित भए ।