भक्तपुर, २७ पुस : बहिरङ्ग (ओपिडी) सेवा मात्रै सञ्चालन गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अब १६ श्ययाको जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गरिने भएको छ । बागमती प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई १६ श्ययाको अस्पतालका रुपमा विकास गर्ने निर्णय गर्दै दरबन्दी स्वीकृत गरेसँगै अब उक्त केन्द्र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा परिणत हुने भएको हो ।
प्रदेश सरकारले अस्पतालका रुपमा विस्तार गर्दै दरबन्दीको व्यवस्था गरेकाले चाँगुनारायण नगरपालिका-७ खरिपाटी कृषि सेवा केन्द्रको २१ रोपनी जग्गामध्ये ११ रोपनी जग्गामा उक्त अस्पतालका लागि भवन निर्माण गरिने भएको छ । एक वर्ष अगाडि नै उक्त अस्पतालका लागि जग्गा खोजी गर्ने क्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा नरेन्द्रप्रसाद गिरी र आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिका अध्यक्ष राजु अधिकारीले चाँगुनारायण नगरपालिकासँग जग्गा माग गर्नुभएकामा नगरपालिकाले ११ रोपनी जग्गा उक्त अस्पताल निर्माणका लागि प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रदेश सरकारले उक्त स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गर्ने निर्णय गर्दै दरबन्दी थप गरेकामा खुसी व्यक्त गर्दै नगरप्रमुख जीवन खत्रीले भन्नुभयो, “खरिपाटीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि ११ रोपनी जग्गा दिन वडा र नगरपालिकाले निर्णय गरेर सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको मालपोत, नापी कार्यालयका पदाधिकारीलगायत सरोकारवालाको स्थलगत अवलोकनपछि बसेको बैठकले उक्त जग्गा उपयुक्त रहेको भन्दै स्वीकृत गरेर सरकारलाई सिफारिस गरेको थियो । अब मन्त्रिपरिषद्ले उक्त जग्गा लिजमा दिने निर्णय गरेलगत्तै अस्पतालका लागि भवन निर्माण गर्न सकिन्छ ।”
अहिले कमलविनायकमा भाडाको भवनमा उक्त केन्द्रले सेवा प्रवाह गर्दै आएकामा सरकारले छिटो निर्णय गरिदिए अर्को वर्ष भवन निर्माणले सार्थकता पाउने उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्रका प्रमुख डा सरकारले जग्गा उपलब्ध गराउने निर्णय नगरेसम्म भवन निर्माणको प्रक्रिया अगाडि नबढ्ने बताउनुभयो । उहाँले अहिले दैनिक ५० भन्दा बढी बिरामीलाई ओपिडी सेवा दिँदै आएको र भवन अभावले भाडाको साँघुरो भवनमा बसेर सेवा दिनुपरेकामा भवन बने उपचारले ठूलो फड्को मार्न सक्ने बताउनुभयो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले प्रदेश सरकारले प्रदेशभित्रका १३ जिल्लाका आयुर्वेदिक स्वास्थ्य केन्द्रलाई विस्तार गरी चितवन र नुवाकोटलाई २५ श्ययाको र भक्तपुर जिल्लासहित बाँकी ११ जिल्लालाई १६ श्ययाको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा स्तरोन्नति गर्ने निर्णयसहित दरबन्दी स्वीकृत गरेर बजेट व्यवस्थापन गरेको बताउनुभयो । (रासस)