कर्णाली नदीबाट हुम्लामा विद्युत उत्पादन हुने

  जेठ २५, २०७७

सिमकोट, जेठ ५ : नेपालकै सबैभन्दा लामो कर्णाली नदीका रुपमा पहिचान बनाएको हुम्ला कर्णालीमा पहिलो पटक विद्युत उत्पादन हुने बाटो खुलेको छ । नेपाल सरकारले आगामी आर्थिक वर्षको उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयकाे बजेटमा हुम्ला कर्णालीबाट विद्युत उत्पादन गर्न सम्भाव्यता अध्ययन गर्न बजेटको व्यवस्था गर्दा कर्णाली नदीबाट पहिलो पटक हुम्लावासीले सुविधा पाउने भएका हुन् ।

सर्केगार्ड गाउँपालिकाको वडा नम्बर १ मा पर्ने हुम्ला खण्डको कर्णाली नदीमा ६२ मेघावाट विद्युत उत्पादन गर्ने क्षमता भएको आयोजनाका लागि एक करोड ६७ लाख ४७ हजार रुपियाँ बजेटको व्यवस्था सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको बजेटमा व्यवस्था गरिएको छ ।

सरकारले बजेटमा उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयको बजेटमा व्यवस्था गरेको बजेट उपशीर्षक नम्बर ३०८००११४ मा सो उल्लेख गरिएको छ । २१७ किलोमिटर लम्बाइ रहेको हुम्ला खण्डमा बग्ने कर्णाली नदीमा पहिलो पटक नेपाल सरकारले विद्युत उत्पादनका लागि लगानी सुरु गरेको हो । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) हुम्लाका इन्चार्ज विजय भण्डारीले कर्णाली नदीमा पहिलो पटक विद्युत उत्पादन गर्न नेपाल सरकारले लगानी गर्न सुरु गरेकोमा हुम्लावासी आभारी रहेको बताउनुभयो ।

अदानचुली गाउँपालिकाको मकैका किसानले केही समयका लागि मात्र कर्णाली नदीबाट परम्परागत कुलोबाट सिँचाइ मात्र गर्दै आएकोमा अब विद्युत उत्पादन गर्ने बाटो पनि खुला भएको उहाँले बताउनुभयो । यसबाट प्रत्यक्ष रुपमा सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकाका बासिन्दाहरू लाभान्वित हुने भएपनि अहिले प्रस्ताव गरिएको विद्युत उत्पादन भए जिल्लाभरि विद्युत आपूर्ति गर्न सकिने मात्र होइन राष्ट्रिय प्रसारण लाइनमा थपिन सहयोग पुग्ने उहाँले बताउनुभयो ।

हालसम्म कर्णाली नदीबाट कुनै फाइदा लिन नपाएको अवस्थामा सङ्घीय सरकारले कर्णाली नदीबाट विद्युत उत्पादन गर्ने बाटो खोलेकोमा हुम्लावासीका लागि गौरवको विषय भएको सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष कर्णजङ्ग शाहीले बताउनुभयो । त्यसै गरी, हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका वडा नम्बर २ र ४ मा पर्ने दार्म नदी जलविद्युत आयोजनाको दश मेगावाट उत्पादन क्षमता भएको विद्युत आयोजनाका लागि दुई करोड पाँच लाख अठार हजार रुपियाँ बजेटको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया