उदयपुरमा श्रीमान श्रीमतीसहित तीन जनामा कोरोना सङ्क्रमण

  जेठ २५, २०७७

गाईघाट, जेठ २५ : नयाँ सङ्क्रमित नभेटिएपछि सामान्य बन्दैगएको उदयपुरमा फेरि एकैसाथ तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार जिल्लाको पूर्वी क्षेत्र बेलका नगरपालिकामा ३४ र ३६ वर्षीय दुईजना र चौदण्डीगढी नगरपालिका वडा नं ५ सिवाहीमा ३२ वर्षीय एकजना गरी तीन जनामा एकैसाथ कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय, उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार उहाँहरूको पाँच दिनअघि स्वाब सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । जिल्लाका पाँचवटा स्थानीय तहमा रहेका विभिन्न क्वारेन्टाइनहरूमा बस्दैआउनुभएका १३४ सहित ३८५ जनाको स्वाब सङ्कलन गरी लगिएकोमा अहिलेसम्म तीन जनामा काेराेना पोजिटिभ देखिएको र अन्यको परीक्षण भइरहेको सुवेदीले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख सुबेदीका अनुसार बेलका, चौदण्डी, त्रियुगा, कटारी नगरपालिका र लिम्चुङ्गबुङ्ग गाउँपालिका गरी पाँच वटा स्थानीय तहको स्वाब सङ्कलन गरी काठमाण्डौँ पठाइएको थियो । नयाँ सङ्क्रमित तीनै जना छिमेकी मुलुक भारतबाट आफ्नो घर आएका मानिसहरू हुनुहुन्छ । उहाँहरूलाई सम्बन्धित नगरपालिकाले नेपाल प्रवेश गरेलगत्तै सिधै क्वारेन्टाइनमा ल्याएर राखेको थियो । बेलकाका सङ्क्रमित दुई जना श्रीमान श्रीमती हुनुहुन्छ ।

सङ्क्रमित तीनै जनालाई उपचारको लागि एम्बुलेन्समार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । योसँंगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३६ पुगेको छ भने उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या ३२ पुगेको छ । क्वारेन्टाइनमा रहेकाहरूमा अरु पनि सङ्क्रमित भएको रिपोर्ट आउनसक्ने तर समुदायमा भने निस्तेज भएकोले डराउनुपर्ने अवस्था नरहेको स्वास्थ्य प्रमुख सुबेदी बतथाउनुहुन्छ ।

करिब एक महिनाअघि एक जना पत्रकारमा सङ्क्रमण देखिएपछि सामान्यतर्फ उन्मुख हुँदै गरेको उदयपुरमा नयाँ सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमित नदेखिएपछि स्थानीय प्रशासनले जिल्लाका सबै ठाउँका बजारहरू बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्ला राखी जनजीवन सामान्य बनाउँदै आएको थियो ।

तपाईको प्रतिक्रिया