क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा एपिएफ क्लब विजयी

  पुष १२, २०८०

वीरगञ्ज (पर्सा), १२ पुस : यहाँ जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज नेपाल एपीएफ क्लब विजयी भएको छ । नारायणी रङ्गशालामा जारी सो प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पर्सा ११ लाई आठ रनले पारजित गर्दै एपीएफ क्लब विजयी भएको हो ।

प्रतियोगितामा टस जितेर पर्सा ११ ले पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गर्न उत्रेको एपिएफ क्लबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २८ रनको योगफल जोडेको थियो । एपिएफका कप्तान प्रदीप ऐरीले ५२ रन, लोकेश बलमे १९ रन, पूर्ण विकले १८ रन, अविनाश बोहराले १४ रन तथा सुमित महर्जनले १३ रनको योगदान गरे ।

पर्सा ११ का कप्तान सन्दिप लामिछाने, रुपेश सिंह र रमेश कुमारले समान २÷२ विकेट तथा पवन सर्राफ र अनिल साहले १-१ विकेट लिए । एक सय २९ रनको विजयी लक्ष्य लिएर ब्याटिङमा उत्रेको पर्सा ११ ले २० ओभरमा आठ विकेट गुमाएर एक सय २० रन मात्र जोड्न सकेपछि एपिएफ आठ रनले विजयी भएको हो ।

पर्सा ११ का लागि रुपेश सिंहले ४६ रनको पारी खेलेपनि टिमलाई जित दिलाउन सक्नुभएन् । पर्सा ११ का अनिल साहले १६ रन, इमरान शेख र सुरज पटेलले समान १५÷१५ रनको योगदान दिनुभयो । एपिएफ क्लबका अविनाश बोहरा, रमेशकुमार र मौसम ढकाले समान २÷२ विकेट तथा अमर रौटेलाले एक विकेट लिनुभयो । सो प्रतियोगिताको म्यान अफ द म्याच पर्सा ११ का रुपेश सिंह घोषित हुनुभयो ।

नारायणी रङ्गशाला पुनःनिर्माणमा तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी ६ टिमको सहभागिता छ । प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया