चितवनका किसान नगदेबालीतर्फ आकर्षित

  पुष ११, २०८०

चितवन, ११ पुस : चितवनका किसान पछिल्लो समय तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् । 

माडी नगरपालिका-३ का ओमप्रकाश महतो विगत पाँच वर्षदेखि तोरीखेती गर्दै आउनुभएको छ । उहाँले यसभन्दा पहिला धान भित्र्याएपछि गहुँ र आलुखेती गर्दै आउनुभएको थियो । महतोले अहिले आफ्नो १० कट्ठा र भाडामा लिएको १० कट्ठा जग्गामा तोरीखेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “जङ्गली जनावारले तोरीबालीलाई कम क्षति गर्ने भएकाले यसमा जोड दिएका हौँ ।” 

यस क्षेत्रमा हात्ती, गैँडा, चित्तललगायतले अन्नबाली क्षति गर्ने गर्दछन् । अहिले माडीमा तोरी टन्न फलेको छ । महतोले भन्नुभयो, “हाम्रो गाउँमा ६० हेक्टरभन्दा बढी जमिनमा तोरी खेती गरिएको छ । तोरी छिटो पाक्ने तथा उचित मूल्य पनि पाइने भएकाले सबैले तोरीबाली लगाउने गरेका छन् ।” यस्तै खैरहनी नगरपालिका–१२ का नवीनकुमार श्रेष्ठ विगत दुई वर्षदेखि तोरीखेती गर्दै आउनुभएको छ । 

उहाँले १६ कट्ठा जग्गामा तोरीखेती गर्दै आउनुभएको छ । पानी कम लाग्ने र जनावरले समेत असर कम गर्ने भएपछि तोरीखेती गर्न थालेको उहाँको भनाइ छ । श्रेष्ठले भन्नुभयो, “गहुँ र मुसुरो खेती ढिला पाक्छ, त्यसैले तोरी खेती गरेको हुँ ।” तोरी थन्काएपछि सोही बारीमा खर्बुजा खेती गर्ने योजनामा रहेको उहाँले सुनाउनुभयो । तोरीले मूल्य पनि राम्रो पाउने भएकाले यो खेती गरिएको भएपनि अहिले बजार सुस्त हुँदा मूल्य घट्छ कि भन्ने चिन्ता लाग्ने गरेको श्रेष्ठको भनाइ छ । 

कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लामा यस वर्ष २१ हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । यो क्षेत्रफल गत वर्षको तुलनामा बढी हो । गत वर्ष १४ हजार सात सय ६५ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको केन्द्रका योजना अधिकृत उमराज अर्यालले बताउनुभयो । उहाँका अनुसार यो क्षेत्रफल गत वर्षको तुलनामा सात हजार ८५ हेक्टरले बढी हो । गत वर्ष जिल्लामा १९ हजार एक सय ९४ मेट्रिक टन तोरी उत्पादन भएको थियो । 

यो वर्ष तोरी उत्पादनमासमेत वृद्धि हुने उहाँको भनाइ छ । बर्खे धान र मकै लगाएका अधिकांश ठाउँमा तोरी खेती गरिएको छ । तोरी बाली छिटो पाक्ने, चैते धान लगाउन सहज हुने नगदे बाली भएकाले किसानको ध्यान यस बालीतर्फ गएको योजना अधिकृत अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष मुसुरो र गहुँ बालीलाई समेत तेलहन बालीले विस्थापित गरेको छ ।” 

जिल्लामा गत वर्ष तीन हजार चार सय ६० हेक्टर क्षेत्रफलमा गहुँ र एक हजार पाँच सय ३६ हेक्टर क्षेत्रफलमा दलहन बाली लगाइएको थियो । अहिले कहीँ कतै मात्रै यी बाली लगाइएको पाइएको योजना अधिकृत अर्यालले बताउनुभयो । तेलहन बाली प्रवर्द्धनका लागि सरकारले समेत कार्यक्रम बनाएको हुँदा यसतर्फ आकर्षण बढेको उहाँको भनाइ छ । (रासस)

तपाईको प्रतिक्रिया