अष्ट्रेलिया (सिड्नी), ९ पुस : नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले आफू क्रिकेटमा नलागेको भए अष्ट्रेलियामा विद्यार्थी हुने सोचमा रहेको खुलासा गर्नुभएको छ । व्यावसायिक क्रिकेट खेल्न अष्ट्रेलिया आएको मौका पारेर एनआरएनए (एनएसडब्लु) राज्य समितिद्वारा आयोजित सम्मान कार्यक्रममा कुशलले यस्तो बताउनुभएको हो ।
एनआरएनए एनएसडब्लु राज्य समिति र असल्याण्डले संयुक्त रूपमा सिड्नीमा आयोजित कार्यक्रममा क्रिकेटर भुर्तेललाई नगद सहित सम्मान गरिएको हो । क्रिकेटर कुशल भुर्तेलले खेलाडी पलायनको विषयमा सोधिएको प्रश्नमा भन्नुभयो, ‘‘अब क्रिकेटमा खेलेर जीवन यापन गर्नसक्ने दिन आइसकेको छ । हिजोको दिनमा आफ्नो पनि सोच अष्ट्रेलिया आउने रहेता पनि क्रिकेटले जीवनमा फरक मोडमा ल्याइदियो ।’’
कुशललाई सिड्नीमा स्वागत गर्दै एनआरएनए उपाध्यक्ष तथा एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरले देशलाई विश्वमाझ चिनाउने खेलाडीलाई सम्मान र स्वागत गर्न पाउनु गर्वको कुरा रहेको बताउनुभयो ।
उहाँले यसअघि अभिनास बोहोरालाई पनि सम्मान गरिसकेको एनआरएनए एनएलडब्लुले खेलाडीलाई धेर थोर सहयोग पनि होस् भनेर आफूहरूले सम्मान गर्ने गरेको स्मरण गर्दै उनले सिड्नी आउने हरेक नेपाली राष्ट्रिय खेलाडीलाई जहिले पनि यही लेबलमा सम्मान गर्ने घोषणासमेत गर्नुभयो । रुपन्देहीमा निजी लगानीबाट एक्ट्राट्रेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाइरहेका कुँवरले आगामी फागुन भित्रमा आफ्नो मैदानमा खेल खेल्न मिल्ने जानकारी समेत गराउनुभयो ।
कार्यक्रममा एनआरएनए ओसेनिया क्षेत्रका संयोजक दिनेश पोखरेलले नेपाली क्रिकेटको सफलतामा समस्त नेपालीहरू खुसी भएको भन्दै खेलाडीको वृत्ति विकासका लागि आफूहरूले सकेको सहयोग गर्ने बताउनुभयो ।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाका अध्यक्ष दिवाकर काफ्लेले आफ्ना जिल्लावासी क्रिकेटर कुशललाई के, कसरी सहयोग गर्न सकिन्छ ? त्यसका लागि आफूहरू सधैँ तयार रहेको बताउनुभयो । कार्यक्रममा चलचित्र निर्माता अर्जुन कुमार, ग्रानभील नेपाली समाजका सचिव प्रकाश भट्टराई, तास्मानीया नेपाली समाजका तोया भट्टराई लगायतले नेपाली क्रिकेटको विषयमा जिज्ञासा राख्नुभएको थियो ।
रुपन्देहीकै स्थानीय कुशलले आफ्नै ठाउँमा अन्तर्राष्ट्रिय स्तरको मैदान बन्न लागेकोमा खुसी व्यक्त गर्दै पहिलो सेन्चुरी आफैँले हान्नेसमेत बताउनुभयो । उहाँले पछिल्लो समय नेपाली क्रिकेटको सफलताबाट प्रेरित भएर अभिभावकहरूआफ्ना बालबच्चालाई क्रिकेट खेल्न प्रेरित गरिरहेको पनि बताउनुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याट्सम्यान कुशल अस्ट्रेलियाको भिक्टोरिया राज्यको फ्रान्कस्टोन पेनिन्सुला क्रिकेट क्लबमा आबद्ध भएर क्रिकेट खेल्न अस्ट्रेलिया आउनुभएको हो ।