काठमाडौँ, ८ पुस : नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा बैङ्ककै पूर्वकर्मचारी तिलकराज पाण्डेय नियुक्त हुनुभएको छ ।बैङ्क सञ्चालक समितिको शुक्रबारको निर्णय अनुसार पाण्डेयलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको चारवर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै सिइओ पद रिक्त थियो । सिइओका लागि अन्तिम प्रतिस्पर्धामा पाँच जना थिए । जसमध्ये व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेयलाई नियुक्त गरिएको बैङ्कले जनाएको छ ।
नेपाल बैङ्कको सिइओको दौडमा पाण्डेयसँगै अशोककुमार पौडेल, धु्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट पनि हुनुहुन्थ्यो । खुला प्रतिस्पर्धाबाट सिइओ छनोटका लागि बैङ्कले असोज २१ गते दरखास्त आह्वान गरेको थियो ।
नेपाल बैङ्कमै कर्पोरेट क्रेडिट विभाग प्रमुखका रूपमा काम गरिसक्नुभएका नवनियुक्त सिइओ पाण्डेयसँग भिवोर विकास बैङ्कमा नायब प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।