वीरगञ्ज (पर्सा), ५ पुस : पर्साको वीरगञ्जमा आजदेखि सुरु भएको दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–२० प्रतियोगितामा नेपाल आर्मी क्लब र पर्सा ११ ले विजयी सुरुवात गरेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगितामा आज भएको पहिलो खेलमा पर्सा ११ ले भारतको यूपी ११ क्लबलाई र दोस्रो खेलमा आर्मी क्लबले अर्काे विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको हो ।
प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा टस हारेर पहिलो व्याटिङ गरेको नेपाल पुलिसले निर्धारित २० ओभरमा सम्पर्ण विकेट गुमाएर ५८ रनको झिनो योगफल तयार गरेको थियो । नेपाल पुलिसका करण केसीले १५ र अमित श्रेष्ठले ११ रन बनाउनु बाहेक कुनै खेलाडी दोहोरो अङ्क जोड्न सकेनन् । नेपाल पुलिस क्लबलाई सस्तोमा समेट्न आर्मीका सहाब आमलले ३, वसिर अहमदले २ तथा सोमपाल कामी, कुसल मल्ल र अविनाश कर्णले समान १/१ विकेट लिएका छन् ।
उनान्साठी रनको सहज लक्ष्य लिएर मैदान उत्रेको आर्मीले ६ दशमलव १ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेटाएको हो । आर्मीका लागि रोहित पौडेलले अविजित २१ तथा कप्तान विनोद भण्डारीले अविजित १४ रनको योगदान दिए ।
यस्तै आर्मीका सन्तोष कार्की २० रन र कुसल मल्ल २ रनमा आउट हुनुभएको थियो । पुलिसका ललित राजबंशीले एक विकेट हात पार्नुभयो भने एक विकेट रन आउटको रुपमा प्राप्त भएको थियो । सो प्रतियोगिताको म्यान अफ द म्याच आर्मीका सहाब आलम घोषित भएको छ । यस्तै आजै भएको पहिलो खेलमा पर्सा ११ ले भारतको यूपी ११ लाई एक विकेटले हराउँदै विजयी सुरुआत गरेको छ ।
यूपी ११ ले दिएको ६७ रनको लक्ष्य पर्सा इलाभेनले १६ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर पूरा ग¥यो । पर्साका लागि अनिल साहले १८ र कप्तान सन्दीप लामिछानेले १२ रन जोड्नुभयो । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।
यूपी ११ का लागि तरुणकुमार र वासि अन्सारीले दुई/दुई विकेट लिएपछि पर्सा ६७ रनमै अलआउट भएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको यूपी ११ ले १६ ओभरमा सम्पूर्ण बिकेट गुमाएर ६६ रनको योगफल खडा गरेको थियो । यूपी ११ का लागि समीर अन्सारीले २४, जयदीप सिंह र तरुण कुमारले १२/१२ रनको योगदान दिएको थियो । पर्सा ११ का लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा एक मेडन राख्दै २९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए भने रञ्जित कुमार, पवन सर्राफ र रुपेश सिंहले दुई/दुई तथा शफिउल्लाह अन्सारीले एक विकेट लिए ।
सो प्रतियोगिताको म्यान अफ द म्याच पर्सा ११ का कप्तान सन्दीप लामिछाने घोषित भए । उपेक्षाको शिकार भएको वीरगञ्जस्थित नारायणी रङ्गशालाप्रति तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा ११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र यूपी ११ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिनुभयो ।
प्रतियोगिता यही पुस ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने म्यानेजर अन्सारीले बताउनुभयो । यसअघि आज एक कार्यक्रमकाबीच वीरगञ्ज महानगरपालिकाका महानगर प्रमुख राजेशमान सिंहले उद्घाटन गर्नुभएको थियो ।