४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेज गर्न माग गर्दै आजपाद्वारा भन्सार विभाग घेराउ

  पुष ०१, २०८०

काठमाडौं, १ पुस : प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै आइतबार त्रिपुरेश्वरस्थित भन्सार विभाग घेराउ गरेको छ । शनिबार बसेको आजपाको सम्पर्क मञ्चको राष्ट्रिय भेलाले यस प्रावधानको विरोध आइतबारदेखि भन्सार विभाग घेराउ गर्ने निर्णय गरेको थियो ।

विरोध कार्यक्रममा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य बिल्टुप्रसाद यादवले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग पुरा गर्नका निम्ति बाध्य बनाएर छोड्ने बताउनुभयो । उहाँले तीन दिनमा सरकारले माग पुरा गर्न सकेन भने जिल्लाका भन्सार कार्यालय घेराउ गर्ने र आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज हामी केन्द्रीय आम सम्पर्क मञ्चले आज यहाँ घेराउ गरेको छ । शान्तिपूर्ण हिसाबले आग्रह गरेका छौँ । माग पुरा गर्नका निम्ति बाध्य बनाउनेछौँ । आम जनताले ४५ प्रतिशत डिस्काउण्ट पाउने व्यवस्था सरकारले गरेको छ । तर त्यो ४५ प्रतिशत भन्सारको व्यवस्था जनताले नपाइ भन्सारका हाकिमको निर्देशनमा चलेको छ । त्यो कि त आम जनताले पाउनुपर्छ, होइन भने ४५ प्रतिशत जनताका लागि गरेको व्यवस्था खारेज गर्नुपर्छ । आजबाट सुरुवात छ, शान्तिपूर्ण धर्ना गरेर सुरु गर्नेछौँ । तीन दिनमा सरकारले माग पुरा गर्न सकेन भने जिल्लाका भन्सार कार्यालय घेराउ गर्न अघि बढ्नेछौँ । माग सम्बोधन नभएसम्म यो कार्यक्रम जारी राख्नेछौँ ।”

त्यस्तै, पार्टीकी केन्द्रीय सदस्य रञ्जुकुमारी साहले राज्यले नियम कानुन बनाएर आफैँले पालना नगरेकाले भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजी गर्नुपर्ने मागसहित आफूहरू आन्दोलनमा उत्रिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले नियम कानुन बनाएर भन्सारमा जुन आम नागरिकले ४५ प्रतिशत छुट पाउने भनेको छ, त्यो कर्मचारीहरूले पाइरहेका छन्। जनताले पाएका छैनन् । भन्सार छली नियन्त्रण गर्नुपर्छ सरकारले ।”

भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७, ४८, र ४९ मा गरिएको व्यवस्थाअनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । अर्थात् भन्सार छलीको माल सामानबाट प्राप्त रकमको झन्डै आधा (४५ प्रतिशत) पैसा व्यक्तिको निजी हुने व्यवस्था छ । आजपाले यसअघि गत असोजमा पनि भन्सार विभाग घेराउ गरेको थियो ।

तपाईको प्रतिक्रिया