आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्याे केपी ओली कपकाे उपाधि

  मंसिर १५, २०८०

काठमाण्डाै, १५ मंसिर : केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे उपाधि मधेस प्रदेशले जितेको छ । पोखरामा भएको प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेस प्रदेशले उपाधि जितेको हो ।

मधेस प्रदेशले दिएको एक सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय २४ रन मात्रै बनायो । आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । मधेस प्रदेशका हरिशंकर साहले सर्वाधिक चार विकेट लिए ।

यस्तै, प्रदीप पासवानले दुई तथा प्रतिक यादवले एक विकेट लिए । त्यसअघि पोखरा रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो । मधेस प्रदेशका लागि विशाल पटेलले सर्वाधिक ४९ रन बनाए । आर्मीका शाहब आलम र विकेक यादवले समान तीन/तीन विकेट लिए ।

सोमपाल कामी र बसिर अहम्मदले एक–एक विकेट लिए । उपाधि विजेता मधेस प्रदेशले ५ लाख र उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता थियो । 

तपाईको प्रतिक्रिया