रुपन्देही, जेठ २१ : प्रदेश ५ मा कोरोना भाइरस संक्रमणसँगै निको हुनेको संख्या बढ्दै गएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना संक्रमण निको भएको छ ।
कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिनुभयो । निको हुनेमा अर्घाखाँची तथा कपिलवस्तुका मायादेवी, बुद्धभूमि र यशोधरा गाउँपालिकाका छन् ।
उनीहरू सबै गत वैशाख २९ गते अस्पतालमा भर्ना भएको डा थापाले बताउनुभयो । यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको संख्या १९ पुगेको छ ।