हङकङलाई हराउँदै यूएई समूह विजेता, फाइनलमा पुग्न नेपालसँग खेल्ने

  कार्तिक १६, २०८०

काठमाण्डाै १६ कात्तिक – यूएई आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा समूह ‘बी’ काे विजेता बनेकाे छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएकाे खेलमा यूएईले हङकङलाई २२ रनले हरायाे ।

यूएईले दिएकाे १ सय ७७ रनकाे लक्ष्य पछ्याएकाे हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्याे । हङकङका यान्से रथले सर्वाधिक ५९ रन बनाए । बलिङतर्फ यूएईका जहूर खान र अली नसीरले समान २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायाे । यूएईका बसिल हमीदले नटआउट ५१ र कप्तान मुहम्मद वसीम ४६ रन बनाएर आएट भए । बलिङतर्फ हङकङका यासिम मुर्तजाले ३ र नसरुल्ला रानाले २ विकेट लिए ।

अब समूह ‘बी’ काे विजेता यूएईले सेमिफाइनलमा भाेलि शुक्रवार समूह ‘ए’ काे उपविजेता नेपालसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया