सरकारले नै संसद्लाई प्रभावकारी बन्न दिएन : एमाले उपाध्यक्ष पौडेल

  कार्तिक १६, २०८०

काठमाडौँ १६ कात्तिक — नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले सरकारले नै संसद्लाई प्रभावकारी बनाउन भूमिका खेल्न नसकेको आरोप लगाएका छन् । उनले संसद्को काम कारबाही प्रभावकारी नहुनुमा सरकार नै प्रमुख जिम्मेवार रहेको बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा धारणा राख्दै उपाध्यक्ष पौडेलले संसद्को यो अधिवेशनको उपलब्धि निराशाजनक रहेको बताए ।

‘यो अधिवेशनले जति उपलब्धि हासिल गर्नुपर्ने हो, त्यो हुन सकेन । यत्तिका समयसम्म सदन चल्दाको उपलब्धि अत्यन्तै निराशाजनक छ,’ उनले भने, ‘र, सदनको अवस्था भएको अरू कसैको कारणले होइन, सरकारकै कारणले हो । सरकारले नै संसद्लाई प्रभावकारी बन्न दिएन ।’

उनले सदनमा उठेका सवालहरूको सम्बोधनमा समेत सरकारले कञ्जुस्याइँ गरेको बताए । ‘सदनलाई प्रतिपक्षको हो भन्ने गरिन्छ । सदनमा उठेका विषयलाई सरकारले सुन्नुपर्छ भन्ने मान्यता छ । तर हामी कहाँ जाजय मागहरू सरकारलाई सुनाउनका लागि समेत हामीले सदनमा बोलेर मात्रै पुगेको छैन, वेल घेराउ गर्नुपर्‍यो, सदन अवरुद्ध गर्नुपर्ने परिस्थिति समेत बन्यो,’ उनले भने, ‘त्यसकारण संसद् सञ्चालनका विषयमा सरकार नै सबैभन्दा जिम्मेवार हो । यतिसम्म देशको प्रधानमन्त्री विदेश भ्रमणमा जानुहुन्छ, तर यहाँ संसद् पूर्ण रूपमा ठप्प गरिन्छ ।’

पौडेलले सरकारले तत्काल बनाउनैपर्ने कानुनहरू समेत संसद्मा ल्याउन नसकेको बताए । ‘हामीले ७ महिना अधिवेशन चलायौँ, तर उपलब्धि केही पनि छैन । एउटा अनुचित लेनदेनसम्बन्धी कानुनमा संशोधन गर्नेबाहेक अरू एउटा पनि कानुनहरू हामीले टुंगोमा पुर्‍याउन सकेनौँ । आउनैपर्ने कानुनहरू पनि अहिलेसम्म सदनमा आएका छैनन्, आएका विधेयकहरू पनि अघि बढाउनै नसकिनेहरू थला परेका छन्,’ उनले भने, ‘यसबाट सरकार संविधान कार्यान्वयन गरेर, कानुनहरू निर्माण गरेर अघि बढ्न चाहिरहेको छैन भन्ने पुष्टि छ ।’

तपाईको प्रतिक्रिया