कांग्रेस संवाद, सहमति र सहकार्यको पक्षमा छ : प्रमुख सचेतक लेखक

  कार्तिक १६, २०८०

काठमाडौँ १६ कात्तिक — नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक कांग्रेस संवाद, सहमति र सहकार्यको माध्यमबाट संसद्लाई प्रभावकारी बनाउन प्रयत्नरत रहेको बताएका छन् । उनले संसद्को एउटा अधिवेशन सम्पन्न हुने बेला दलहरूले पूरा अधिवेशनमा कसको कस्तो भूमिका रहृयो भन्नेबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा धारणा राख्दै प्रमुख सचेतक लेखकले लामो संघर्षपछि बनेको वर्तमान संविधानको रक्षा र पूर्ण कार्यान्वयनकालागि समेत दलहरूबीच संवाद, सहमति र सहकार्यको शुत्र प्रभावकारी हुने बताए ।

‘कांग्रेसले ०६२/०६३ को जनआन्दोलनपछि सधैँ दलहरूबीच संवाद, सहमति र सहकार्यको माध्यमबाट मुलुकलाई निकास दिने गरी नेतृत्वदायी भूमिका खेल्दै आएको छ, अहिलेको संसदीय व्यवस्थालाई मजबुद बनाउनकालागि समेत हामीले यही बाटोबाट निरन्तर प्रयत्न गर्दै आएका छौँ,’ उनले भने ।

उनले संसद्को प्रभावकारिताले नै अहिलेको व्यवस्थाको भविष्य तय गर्ने दाबी गरे । ‘अहिलेको व्यवस्थाको केन्द्रीय विषयवस्तु भनेकै संसद् हो । यो व्यवस्थाको दीर्घजीवनका लागि पनि संसद्को प्रभावकारिता आवइश्क छ । संसद्को प्रभावकारिता रहृयो भने यो व्यवस्थाको भविष्य छ । यो व्यवस्था पनि प्रभावकारी हुन्छ,’ लेखकले भने, ‘यदि संसद् कमजोर भयो भने सरकार पनि कम प्रभावकारी हुन्छ ।’

उनले संसद्ले आफ्ना काममा आफूलाई खरो रूपमा प्रस्तुत गर्न सक्नुपर्ने बताए । नेता लेखकले कांग्रेस सधैँ संसद्को प्रभावकारी भूमिका हुनुपर्ने पक्षमा उभिएको दाबी गरे । ‘यो अधिवेशन चलिरहेको बेला मुलुकले ठूलठूला समस्याहरू खेप्नुपर्‍यो । वास्तवमा थुप्रै अफ्ठ्याराहरूबाट गुज्रिएर हामी यहाँसम्म छौँ,’ उनले भने, ‘ती समस्याहरूलाई हामीले संसद्भित्रै छलफल गरेर कतिपय समस्याहरूलाई निकासको बाटोसम्म पुर्‍याउन भूमिका खेलेका छौँ ।’

उनले संसद्ले उठाएका कतिपय सवालहरुमा सरकार थप चनाखो हुनु आवश्यक देखिएको बताए । उनले संसद्का आगामी अधिवेशनहरुमा क्यालेन्डर नै बनाएर काम गर्ने गरी वातावरण बनाउनका लागि समेत सबैकाे पहल आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया