त्रिवेणी (रुकुमपश्चिम), ९ कात्तिक : कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वनपैदावर रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभएको छ ।
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्मामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कृषि र वनपैदावारबाट उद्योग सञ्चालन गरेर मात्रै कर्णालीको गरिबी अन्य गर्न सम्भव हुने बताउनुभयो ।
“त्यसका लागि भौगोलिक बनावट छुट्याएर व्यावसायिकरुपमा उत्पादन गर्ने किसानसँग हातेमालो गर्न लागेका छौँ र त्यसैका आधारमा खाका कोर्दैछौँ, कर्णालीमा भएको जडीबुटी, वन पैदावार, श्रम एकसाथ परिचालन गर्दैछौँ”, मुख्यमन्त्री शर्माले भन्नुभयो ।
“बैङ्कले हामीलाई त्यति राम्रोसँग पत्याइराखेको अवस्था छैन, तिनै तहको सरकार मिलेर लघुवित्त बैङ्क निर्माण गरेर कम्तीमा किसानलाई नौ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने र किसानलाई उत्पादनमा लगाउने योजनाका साथ हामी अगाडि बढिरहेका छौँ, मलाई विश्वास छ, यो निर्णयमा सम्माननीय प्रधानमन्त्रीले यसको अनुमति दिनुहुनेछ र हामी अगाडि बढ्ने छौँ”, उहाँले भन्नुभयो ।