संयुक्त राष्ट्रसङ्घ दिवस : नेपाल विश्व शान्तिप्रति समर्पित

  कार्तिक ०१, २०८०

काठमाडौँ, १ कात्तिक : संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । राष्ट्रसङ्घको वडापत्र कार्यान्वयनमा आएको दिन अक्टोबर २४ मा मनाइँदै आएको दिवस यस वर्ष नेपाली पात्रोअनुसार दसैँका दिन परेकाले आज मनाइएको हो ।

नेपाली सेनाले आज शान्ति र्‍यालीको आयोजना गरेको थियो । जङ्गी अड्डाको खेल मैदानबाट सुरु भएको पाँच किलोमिटर दूरीमा सञ्चालित उक्त र्‍यालीमा सेनाका बहालवाला तथा अवकास प्राप्त रथीवृन्द, अधिकृत, विभिन्न युएन मिसनका पूर्वफोर्स कमाण्डर, विभिन्न सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी, सञ्चारकर्मीलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

दोस्रो भागको विशेष कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको टोलीद्वारा मार्चपाष्ट, नेपाली सेनाद्वारा विभिन्न प्रकारका झाँकी, तेक्वान्दो खेल प्रस्तुत गर्नुका साथै सैनिक ब्याण्डको प्रस्तुतीकरण समावेश गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको पहिचान र विश्व शान्तिको कार्यप्रति समर्पित रहेको र संयुक्त राष्ट्रसङ्घको महासचिवको लैङ्गिक समानताको रणनीतिलाई अङ्गीकार गर्दै दक्ष महिला शान्तिकर्मी तैनाथ गरिरहेको बताउनुभयो । उहाँले बदलिँदो शान्ति चुनौतीसँगै साधारण जनताको सुरक्षा संवेदनशीलता वृद्धि भएकाले नवीन तवरले शान्ति कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घले माग गरेको अवस्थामा नेपाल सरकार दश हजार तालिमप्राप्त शान्ति सैनिक पठाउन तयार रहेको जानकारी गराउँदै उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले संयुक्त राष्ट्रसङ्घ दिवसको अवसरमा आयोजित कार्यक्रमले नेपालको परराष्ट्र नीतिको प्राथमिकता विश्व शान्ति पनि रहेको र यसमा नेपालले उल्लेखनीय योगदान पु-याएको कुरालाई दर्साउने बताउनुभयो । नेपाली शान्ति सैनिकले परराष्ट्र नीतिलाई सहयोग पु¥याउने कार्यका साथै द्वन्द्वग्रस्त समुदायलाई द्वन्द्वको चपेटाबाट बाहिर निस्किन मद्दत गरी नेपालको छविसमेत उच्च राख्न सहयोग पु¥याएको बताउँदै उहाँले यस्ता कार्यको सराहना गर्दै आफ्नोतर्फबाट दक्ष शान्ति सैनिक खटाउन पूर्णरूपमा सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हन्ना सिंगर–हम्दीले पाँच जना सैनिक पर्यवेक्षकबाट सुरु भएको नेपालको शान्ति स्थापना यात्रामा हाल छ हजारभन्दा बढी शान्ति सैनिक खटिनुले नेपाल र संयुक्त राष्ट्रसङ्घको भरपर्दाे सदस्य राष्ट्र भएको कुरा बताउँदै दिवसको उपलक्ष्यमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रधान सेनापति शर्माले बदलिँदो परिस्थितिबीच शान्ति सैनिकलाई समेत खतरा बढ्दै गएकोले शान्ति सैनिक आधुनिक उपकरण र उच्च पेसागत दक्षताले सुसज्जित हुनुपर्ने बताउनुभयो । सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश हजार शान्ति सैनिक पठाउन गरेको प्रतिबद्धताको तयारी नेपाली सेनाले पूर्णरूपमा गरिरहेको बताउँदै उहाँले फौजको दक्षता वृद्धि गरी सशक्त कार्य गर्ने क्षमता वृद्धि गर्न योजना गरी कार्यान्वयन भइरहेको बताउनुभयो । त्यसका लागि शान्ति सैनिकको गतिशीलता र क्षमता अभिवृद्धि गर्न प्रयास भइरहेको र उक्त कार्यको लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको योगदानलाई समेत प्रधान सेनापति शर्माले सराहना गर्नुभयो ।

सरकारका सचिव, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा सशस्त्र प्रहरी बल, नेपालका प्रमुख तथा पदाधिकारी, नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीलगायत नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति रहेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया