सर्लाही, जेठ १८ : नेपाल–भारत सीमास्थित सर्लाहीको विष्णु गाउँपालिका–२, पकडीमा आइतवार बिहान सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।
आइतवार बिहान पौने ६ बजेतिर भारतीय व्यापारीहरु व्यापार गर्न भन्दै जवरजस्ती नेपालतर्फ प्रवेश गर्न खोजेपछि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले रोक्न खोजेका थिए । त्यसक्रममा सशस्त्र प्रहरीले आफूहरुमाथि दुव्र्यहार गरेको भन्दै व्यापारीहरुले भारततर्फका ३०÷३५ जना गाउँले उठाएर सीमामा ल्याई सशस्त्र प्रहरीमाथि नै आक्रमण सुरु गरे ।
हुल बाँधेर सीमामा आएका भारतीयहरुले यस्ता हतियार हामीसँग पनि छन् भन्दै गस्ती गरिरहेका छ जना सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास गरेका सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गङ्गाराम श्रेष्ठले गोरखापत्रसँग बताउनुभयो । भारतीयहरुले ढुङ्गामुढा गरी हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको थियो ।
सो क्षेत्रमा अहिले स्थित सामान्य भइसकेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । यहाँको अवस्था अहिले सामान्य छ, म आफै यहाँ (पकडी) आइपुगेको छु, श्रेष्ठले भन्नुभयो, फेरि विवाद हुन नदिन भारतीय सुरक्षा बल (एसएसबी) सँग समन्वय भइरहेको छ ।
सीमामै जोडिएको विष्णु गाउँपालिकाका स्थानीय खुला सीमा हुँदै किनमेलका लागि भारततर्फ जाने र भारतीयहरु पनि व्यापार व्यवसाय गर्न नेपालतर्फ आउने गर्छन् । कोरोना भाइरसको रोकथाम गर्न गरिएको लकडाउनपछि भने सीमामा आवतजावत ठप्प छ । तर पनि लुकिछिपी तस्करहरुले खोला खोल्सी एवं खेतबारी हुँदै सामान ओसारपसार गरिरहेका स्थानीय वासिन्दा बताउँछन् ।
लकडाउनले गर्दा नेपालतर्फ समान ल्याउन नपाएपछि आइतवार बिहानै भारतीय पक्षले सीमामा आएर विवाद गरेका हुन् । सर्लाही खण्डमा पर्ने ५१ किलोमिटर खुला सीमाबाट समान भित्र्याउन भारतीय पक्षले ठाउँ–ठाउँमै विवाद गर्दै आएका सुरक्षा स्रोतले जनायो ।