काठमाडौं, १९ असोज : दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्यूनतम आधारभूत सेवाको अभावमा बसाइँ सर्न बाध्य भएका छन् । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाको लिमी उपत्यकाको जाङ अहिले रित्तो भएको छ । २०५५ सालमा ६५ घरधुरी रहेको जाङका स्थानीयहरु बसाइँ सरेर अन्यत्र गएका हुन् ।
अहिले गाउँमा तीन परिवारको मात्रै बसाइ छ । उनीहरु पनि बसाइसराइँका लागि तयारी अवस्थामा छन् । बाटो माथि र बाटो तल दन्तलहर जसरी ढुङ्गाले कुँदिएका घरहरुमा ताल्चा लागेको छ । खेतीयोग्य फाँटहरु बाँझो छन् । अन्न बालीका लागि उर्वर जाङका अधिकांश खेतीयोग्य जमिन घाँसले ढाकिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।
थिङ्लेले भन्नुहुन्छ, ‘‘खेतमा ‘उवा’ (एक प्रकारको हिमाली जौ) नहालेपछि केही हुँदैन । बीउ नहालेपछि केही हुँदैन । म एक्लै छु । खेत जोत्ने मान्छे छैन । सबै खेत छ । तर सबै घाँसै घाँस छ । नजोतेपछि के हुन्छ । सबै सरिसक्यो काठमाडौंतिर ।’’
अर्का स्थानीयको गुनासो पनि मिङमा थिङलेले भन्दा फरक छैन । ‘‘गाउँमा मान्छे नै नभएपछि खेती कसरी हुन्छ ? सबै घरहरु रित्तो छ । हामी तीन घर मात्रै छौँ, यहाँ । हामी पनि कहिले कता जाने भनेर बसिरहेका छौं ।,’’ बस्ती बीच ठडिएका बन्द घरहरुलाई देखाउनुहुँदै उहाँले भन्नुभयो, ‘‘बस्ती सरिसक्यो । गाउँमा रहेको गुम्बा सार्ने सल्लाह गर्न मान्छेहरु आएका छन् । धर्मशालामा मिटिङ छ । मान्छेहरु त्यहीँ भेटिन्छन् । मान्छे नै छैन यहाँ ।’’
हिउँदमा घोडालाई खुवाउने घाँस उखेल्न व्यस्त हुनुभएको उहाँले अनुहारमा बस्ती खाली हुँदाको दिग्दारी प्रष्ट देखिन्थ्यो । ‘‘गाउँ त राम्रै छ । तर सबै काठमाडौं गइसके ।’’
खाली भएको बस्तीका बारेमा धेरै बोल्न मन थिएन उहाँलाई । फेरि घाँस उखेल्नमै व्यस्त हुनुभयो ।
अनकन्टार स्थान । सम्पर्कका लागि न सञ्चार छ न सवारी साधनको पहुँच । न त स्वास्थ्य उपचारको सुविधा । सिङ्गो लिमी उपत्यकाका तीन गाउँ मध्येको पहिलो गाउँ जाङमा बाँकी रहेका तीन घरपरिवारका सदस्यमा दुष्कर बन्दै गएको जीवनप्रतिको भय स्पष्ट देखिन्थ्यो । अनिश्चित गन्तव्यको भीमकाय ढुङ्गाले थिचिएको जस्तो अनुहारमा नैराश्य सजिलै पढ्न सकिन्थ्यो ।
गुम्बा व्यवस्थापनका लागि आयोजना गरिएको बैठकमा सहभागी हुन जाङ पुगेका स्थानीय कुन्चोक पेम्बा लामा सरकारले हिमाली क्षेत्रका जनतालाई नहेरेका कारण बसाइँ सर्न बाध्य भएको दुःखेसो गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘समस्यै समस्या छ । न यहाँ स्वास्थ्य चौकी छ । बिरामी भएपछि हेलिकोप्टर हायर गर्नुपर्याे भने २० लाखसम्म खर्च हुन्छ । त्यो गाउँलेले तिर्न सक्दैनन् । शिक्षा प्राइमरी स्कुल छ । अहिले त स्कुल पनि खालि हुन लागिसक्यो । उपचारका लागि चीनको ताक्लाकोट जानुपर्छ । उनीहरु (चिनियाँ) नेपाली सीमाभित्र मनपरी छिर्छन् तर हामीलाई छिर्न कडाइ गरिन्छ । हाम्रै प्रशासनले हामीलाई कडाइ गर्छ । सीमा पास लिन गाह्रो छ ।’’
सङ्घीयता आयो । राज्य सत्ताको बागडोर जनताका छोराछोरीले गरे तर लिमीवासीका लागि ती सबै दन्त्यकथा जस्तै छन् । उहाँले भन्नुभयो, ‘‘आधारभूत सुविधा भएको भए आफ्नो जन्मस्थान छोडेर जान कसलाई मन हुन्छ र ? गाउँ गाउँमा सिंहदरबार पुगेको कुरा सबैले सुनेको हो । लिमी बासीले त्यो महसुस गरेको छैन । यहाँ त सरकारले आँखै देखेको छ जस्तो लाग्दैन । त्यही कारणले त मान्छेहरु विस्थापित भएका छन् । सुविधायुक्त भएको भए को पो जान्छ र आफ्नो गाउँ छोडेर ? यस्तो रमाइलो ठाउँ छ । सरकार ठाउँ ठाउँमा आएको होला तर लिमीमा आएजस्तो मैले महसुस गरेको छैन ।’’
स्थानीय तम्जी पेमा लामा सरकारले नहेरेपछि आफूहरु बसाइँ सर्न बाध्य भएको बताउनुभयो । । ‘‘ठाउँ एकदम राम्रो नै हो । पहिला ६०÷६५ घरहरु थिए । मान्छे पनि धेरै नै थिए । पहिले हिउँदमा चौंरीहरु तिब्बतमा चर्न जान्थ्यो, वर्षातमा हाम्रै गाउँमा चर्थे। सरकारले नहेरेर गह्रो भयो । आफ्नै देशमा याकहरु,च्याङ्ग्रााहरु चराउनु भन्यो । चरनका लागि अर्को ठाउँ दिन्छौं भन्यो । तर चरनको व्यवस्था भएन । हामीले च्याङ्ग्रााहरु, याकहरु बेच्यौँ । याकहरु त हिउँमा नै बस्ने जनावर हो । अन्त लगेर चरन नै हुँदैन । बाँच्नै सक्दैन । सरकारले पानी, बाटो केही हेरेन ।’’ मुलुकको राजनीतिक अस्थिरताप्रति जानकार उहाँले कुनै पनि सरकारले लिमीवासीको समस्या सम्बोधन नगरेको गुनासो गर्नुभयो ।
लिमीमा कुनै पनि राजनैतिक दलको सङ्गठन छैन । स्थानीय सरकारको नेतृत्वमा स्वतन्त्र उम्मेदवार आएका छन् । तर राजनितिक स्थिरता भने उनीहरु पनि चाहन्छन् । लामा भन्नुहुन्छ, ‘‘जुन सरकार आए पनि हामीलाई हेरेको छैन । सरकार त दुई/दुई वर्षमा नै नयाँनयाँ आउँछ । घरको परिवार एकजना बिरामी भयो भने हेलिकोप्टर ल्याउँदा १४÷१५ लाख जान्छ । पहिला ६५ घरधुरी थियो । अहिले तीन परिवार मात्रै छ । बस्ती सरेपछि गुम्बा पनि सार्नुपर्ने भयो । काठमाडौंको सुन्दरीजलस्थित गुम्बामा नै यहाँको गुम्बा पनि सार्ने निर्णय गरेर सामान सार्ने तयारीमा लागेका छौं ।’’
२०७२ सालमा नेपालको संविधान जारी भएपछि दलहरुले गाउँ गाउँमा सिंहदरबार भन्दै मुलुकका सबै क्षेत्रमा विकासको मूल फुट्ने आश्वासन बाँडे । सङ्घीयता कार्यान्वयको पहिलो पाँच वर्ष सकिएर दोस्रो कार्यालयमा प्रवेश गर्दै गर्दा पनि ती दूरदराजका सर्वसाधारणले सङ्घीयताको अनुभूति गर्न सकेनन् । नेपालकै सबैभन्दा ठूलो गाउँपालिका नाम्खाको वडा नम्बर ६ अन्तर्गतका तीनवटा गाउँमध्येको एउटा गाउँ जाङ रित्तो भएपछि त्यसको झण्डै १० र १५ किलोमिटर दूरीमा रहेका हल्जी र तील गाउँमा पनि बसाइँसराइको प्रभाव पर्नसक्ने खतरा बढेको छ । वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ हिमाली क्षेत्रको बबसाइँसराइ सुइटर फुकाले जस्तै हुने र एउटाले फुकालेपछि अर्कोले पनि फुकाल्ने भएकाले अन्य दुई गाउँमा पनि यसको प्रभाव पर्न सक्ने खतरा औंल्याउनुहुन्छ ।
उनले भन्नुभयो, ‘‘यो चाईना सिमानामा पर्यो । लिमी लाप्चाको नाकामा हामी बसिरहेका छौं । न यहाँ कुनै सुरक्षा निकाय छ । यहाँको सीमा सुरक्षा लिमिवासीले मात्रै गरेका छन् । अब यो जाङवासीहरु तल जान थालेको छ । यो वर्ष यिनीहरु (जाङका स्थानीय) गयो भयो त्यसपछि उता गाउँ(तील)को पनि जाला । त्यसपछि हाम्रो यो (हल्जी)को पनि जाला । पछि पछि पूरा लिमी नै तल झर्यो भने त यहाँ सुरक्षा पनि छैन । केही पनि छैन । यो विषयमा सङ्घ र प्रदेश सरकारले विशेष हेर्नुपर्ने देखिन्छ ।’’
गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात लगायत न्यूनतम आधारभूत सेवाको अभावमा स्थानीयहरु बसाइँसराइ गर्न बाध्य भएका हुन् । आर्थिक उपार्जनको बलियो आधारसँगै, स्वास्थ्य, शिक्षा र यातायात पूर्वाधारको सहज व्यवस्था नगर्ने हो भने हिमाली क्षेत्रको बसाइँसराइलाई नियन्त्रण गर्न सहज देखिँदैन ।
चीनको सबैभन्दा नजिकको सीमा लाप्चामा कुनै पनि सुरक्षा सयन्त्र छैन । सिमिकोटदेखि झण्डै एक सय ५ किलोमिटरको दूरीमा कुनै पनि सुरक्षा निकायको उपस्थिति छैन । जाङ र हल्जीको बीचमा नेपाल प्रहरीको सुरक्षा चेक पोष्ट छ । जसले न त सीमा सुरक्षामा प्रभावकारी उपस्थिति जनाउन सकेको छ न त गाउँलेको सुरक्षामा भूमिका निर्वाह गर्न सकेको छ । अहिले सो क्षेत्रमा लिमीबासी नै सीमा सुरक्षकको रुपमा रहेका छन् । बसाइँसराइपछि गाईगोठ जानेहरु हुँदैनन् । खर्क जाने हुँदैनन् । यसले सीमा सुरक्षामा पनि प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।