काठमाडौं, जेठ १७ : अमेरिकामा जारी विरोध प्रदर्शनको प्रत्यक्ष प्रसारण गरिरहेका एकजना सीएनएनका रिपोर्टरसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएर मुक्त गरेको छ । नियन्त्रणमा लिएको केही समय नबित्दै तीनैजनालाई मुक्त गरिएको बीबीसीले जनाएको छ ।
सीएनएनमा क्यामरा अगाडि प्रदर्शनबारे प्रत्यक्ष प्रसारण गर्नुभएका ओमार जिमेनेजलाई प्रहरीले हथकडी लगाएर नियन्त्रणमा लिएपनि अभियोग पत्र दत्र्ता नै नगरी शुक्रबार नै मुक्त गरेको हो । जिमेनेजका क्यामरापर्सन र प्रोड्युसरलाई पनि स्थान खाली गर्न दिएको आदेश पालना नगरेको भन्दै नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । मिनेसोताका गर्भनर टीम वाल्जले क्षमा माँग्दै उक्त घटना अस्वीकार्य रहेको बताउनुभएको छ ।
सीएनएनले भने प्रहरीले गिरफ्तार गर्नु संविधान विपरित रहेको प्रतिक्रिया जनाएको छ । मिनियापोलिसस्थित प्रहरीको प्रशासनीक भवनमा प्रदर्शनकारीले आगो सल्काउँदा जिमेनेजले प्रत्यक्ष प्रसारण गर्नुभएको थियो । प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको दृश्य समेत प्रसारण गरिरहेको देखेपछि प्रहरीले तीनैजनालाई नियन्त्रणमा लियो ।
प्रहरीसँगको भनाभनमा जिमेनेजले आफू प्रत्यक्ष प्रसारणमा रहेको र सकिने बित्तिकै यहाँबाट छुट्टिने बताएको देखिन्छ । जिमेनेजले आफ्नो भनाई सक्नै लाग्दा अर्का प्रहरी अधिकारीले ‘तपाईलाई गिरफ्तार गरिन्छ’ भन्दै हथकडी लगाएर अगाडि लगेको देखिन्छ ।
सीएनएनले अमेरिकी संविधानको अभिब्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै आलोचना गरेको छ । मिनियापोलिस प्रहरी अधिकारीले भने सञ्चारकर्मी रहेको जानकारी पाउने बित्तिकै मुक्त गरिएको दाबी गरेका छन् । तर गर्भनर वाल्जले भने घटनाको पूर्ण जिम्मेवारी लिएको प्रतिक्रिया दिनुभएको छ ।