नेपाली सेनाको ध्यानाकर्षण

  जेठ १७, २०७७

काठमाडौँ, जेठ १७ : नेपाली सेनाले भारतीय अनलाइन मिडिया हिन्दुस्तान टाइम्स डट कममा प्रकाशित भ्रामक, दुरासयपूर्ण, काल्पनिक र निराधार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो अनलाइनको मे २७ तारिखको अङ्कमा शिशिर गुप्ताद्वारा लिखित लेख र २८ तारिखमा प्रकाशित एउटा समाचार आफैँमा भ्रामक र दुई मित्रराष्ट्र मुलुकका हितविरुद्ध भएको जनाएको छ । सेनाद्वारा जारी ध्यानाकर्षण विज्ञप्तिमा हिन्दुस्तान टाइम्समा प्रकाशित लेख तथा समाचारहरू ‘ऐतिहासिक तथा विशिष्ट सम्बन्ध भएका नेपाल र भारतीय सेनाबीचको सम्बन्ध तथा विश्वासमा नकारात्मक असर पु¥याउने उद्देश्यबाट प्रेरित रहेको’ उल्लेख छ ।

राष्ट्रिय एकता थप मजबुत र बलियो बनाउनुपर्ने वर्तमान परिस्थितिमा विभाजन ल्याउने तथा सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसाय लक्षित केही भारतीय मिडियाको अफवाह र भ्रममा नपर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

‘‘नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव सेना प्रतिबद्ध रहेको स्मरण गराउँदै भारतीय मिडिया हिन्दुस्तान टाइम्स डट कममा प्रकाशित लेख तथा समाचारको विश्वास नगर्न आम पाठक तथा स्वाभिमानी नागरिकमा हार्दिक अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको सीमा अतिक्रमण र सेनाको भूमिकाका सम्बन्धमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको जानकारी गराउँदै सेनाले आगामी दिनमा नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्बन्धी यस प्रकारका अफवाह फैलाउने प्रयास हुनसक्ने भएकाले सचेत रहन अपिलसमेत गरेको छ । 

तपाईको प्रतिक्रिया