काठमाडौं, १६ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको विरोध गर्नुभएको छ ।
मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै अध्यक्ष ओलीले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाउनुभएको हो । उहाँले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताउनुभयो ।
उहाँले हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी अपराधीलाई कैद मिनाहा गरेको जिकिर गर्नुभयो । ओलीले यो देशमा न्याय छैन की यही हो न्याय ? भन्दै प्रश्न समेत गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘‘आज चार वर्ष नभइकन एसिड आक्रमण गर्नेलाई नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा समेत परिचित भइसकेकी बालिका हुन् मुस्कान खातुन । उनको घाउ निको भएको छैन । उनको उपचार चलिरहेको छ । तर सरकारले एसिड आक्रमणलाई छोडिसक्यो । सरकारले उनको उपचार गराइरहेको छैन ।’’
अध्यक्ष ओलीले भन्नुभयो, ‘‘एसिड आक्रमण पीडितलाई उपचार गर्न नसक्ने, उनको अरु प्रवन्ध गरिदिन नसक्ने । हिंसात्मक घटनालाई प्रोत्साहित गर्नेगरी त्यस्ता अपराधीलाई चार वर्ष पनि भएको छैन । कडा कानुन ल्याइयो भनेर देशमा खुशीयाली मनाइयो । महिला जगत खुशी भएको थियो । हाम्रा चेलीले सुरक्षाको अनुभूति गरेका थिए । उनीहरुलाई सरकारले छोडिदियो ।’’
अध्यक्ष ओलीले कानुन नमान्ने भए अपराधीका लागि कानुनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै प्रश्न गर्नुभयो ।