फुङ्लिङ भेट्रान्स दौडमा गणेशबाबु प्रथम

  असोज ०४, २०८०

ताप्लेजुङ, ४ असोज : ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आयोजित भेट्रान्स अर्थात् ४० वर्षमाथि उमेर समूहको दौड प्रतियोगितामा पुरुषतर्फ गणेशबाबु निरौला प्रथम हुनुभएको छ । संविधान दिवसको अवसरमा बिहीबार आयोजना गरिएको दौडमा अन्य सहभागीलाई पछि पार्दै निरौला प्रथम हुनुभएको हो । 

संविधान दिवस मूल समारोह समिति ताप्लेजुङले आयोजना गरेको दौड प्रतियोगितामा निर्धारित दूरी ९ मिनेट ५४ सकेण्डमा पूरा गर्दै निरौला प्रथम हुनुभएको हो । प्रथम हुँदै उहाँले ७ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । यस्तै, ९ मिनेट ५७ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै दावा शेर्पा द्वितीय र १० मिनेट ३४ सेकेण्डमा दूरी पूरा गर्दैकुमार महतारा तृतीय हुनुभयो । 

द्वितीय हुनुभएको शेर्पाले पाँच हजार र तृतीय महताराले तीन हजार रुपियाँ नगद पुरस्कार पाउनुभयो । त्यस्तै, महिलातर्फ सविता गौमत, कला गोम्देन द्वितीय र हर्कमती लिम्बू तृतीय हुनुभयो । महिला दौडका विजेताले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार पाउनुभयो । 

भेट्रान्स दौडमा पुरुषतर्फ ३५ जना र महिलातर्फ १५ जनाले सहभागिता जनाउनुभएको थियो । दौडका विजेतालाई जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, उपप्रमुख कृष्णप्रसाद लिङ्खिमलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । दौडमा प्रमुख लामा, उपप्रमुख लिङ्खिम र सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईसहितले भाग लिनुभएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया