क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कृष्णपुर ७ का वडाध्यक्षको मृत्यु

  जेठ १४, २०७७

कञ्चनपुर, जेठ १४ : क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेका बेला कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका वडा नं ७ का वडाअध्यक्षको मृत्यु भएको छ ।

नेपाली कांग्रेसका तर्फबाट निर्वाचित ५८ वर्षीय वडाध्यक्ष कल्लु रानाको मंगलबार राति ११ बजे निधन भएको हो ।

कृष्णपुरस्थित वडा नं ७ स्थित राष्ट्रिय माद्यामिक विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थापनका क्रममा हृदयघातका कारण एक्कासी बेहोस भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रैकवार बिचवाका प्रहरी सहायक निरीक्षक भीमसिंह धामीले मृत्युको कारण खुल्न नसकेको बताए । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ ।

अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले सुरुमा शवको पोष्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गरिने जानकारी दिए ।

तपाईको प्रतिक्रिया