दमक, २२ भदौ : दमक नगरपालिकाले आयोजना गरेको कोशी प्रदेशस्तरीय प्रथम उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि सङ्खुवासभाको सभापोखरी भलिबल टिमले जितेको छ ।
प्रदेश स्तरीय भलिबल प्रशिक्षण केन्द्रको संयोजनमा बिहीबार बेलुका सम्पन्न प्रतियोगिताको फाइनलमा खोटाङ भलिबल क्लबको टिमलाई ३-० को सोझो सेटमा हराउँदै सभापोखरीले उपाधि जितेको हो ।
उपाधि हासिल गरेसँगै सभापोखरीको टिमले नगद ५१ हजार रुपियाँ राशीको पुरस्कार, ट्रफि सहितको पुरुस्कार हात पारेको छ । उपविजेता खोटाङ भलिबल क्लबले नगद ३१ हजार रुपियाँ पाएको छ ।
यस्तै, भोजपुरको टिमले तेश्रो स्थान हासिल गर्दै नगद १५ हजार रुपियाँ र ट्रफि हात पारेको छ । मङ्गलबारदेखि सुरु भएकोे कोशी प्रदेशस्तरीय सो खुल्ला महिला भलिबल प्रतियोगिताका विजयीहरुलाई दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले पुरस्कार प्रदान गर्नुभएको हो ।
भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष गजेन्द्र देवानले दमकमा ठुलो मिहिनेत र प्रयासबाट महिला भलिवल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । महिला खेलाडीहरु उत्पादनमा यसले सहयोग पुग्ने उहाँको भनाइ उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।