सिरहामा थप पाँच जनामा कोरोना पुष्टि

  जेठ १३, २०७७

सिरहा, जेठ १३ : सिरहामा थप पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो सहित सिरहामा अहिलेसम्म कोरानाबाट संक्रमित हुनेहरुको सँख्या ६ पुगेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले सोमबार अबेर आएको जानकारी अनुसार भगवानपुर गाउँपालिका–४ स्थित बिसौलका ३६, २६, २९, ३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिका–१ स्थित भगवतीपुर तमसुईयाको एक जना पुरुष गरी थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको हो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका पुष्टि गरेकाे छैन । 

संक्रमण पुष्टि भएकाहरुमध्ये भगवानपुर गाउँपालिकाका चारै जनालाई धनगढीस्थित महेन्द्र गेनाई कोरोना अस्पतालमा राति नै ल्याइसकिएको छ । नवराजपुर गाउँपालिकाको भगवतीपुर तमसुईयाका संक्रमितलाई राति सोही गाउँपालिकाको सोनवर्षा क्वारेन्टाइनको छुट्टै कोठामा राखी मङ्गलबार धनगढीकै कारोना अस्पतालमा पु-याउने तयारी भइरहेको नवराजपुरका गाउँपालिका प्रमुख विश्वमोहन यादवले जानकारी दिनुभयो ।

उनीहरु सबै गत जेठ २ गते भारतबाट भित्रिएर सोझै आ–आफ्ना गाउँपालिकाको क्वारेन्टाइन शिविरमा प्रवेश गरेका थिए । क्वारेन्टाइनमा रहेकै अवस्थामा गत जेठ ५ गते उनीहरुको स्वाब सङ्कलन गरिएको थियो ।

भारतबाट भित्रिएपछि उनीहरु गाउँघर नपसी सोझै क्वारेन्टाइनमा प्रवेश गरेकोले अहिलेको अवस्थामा गाउँ सिल गर्ने अवस्था नआए पनि जिल्ला सुरक्षा समितिको बैठकबाट हुने छलफल बमोजिम यसबारे निर्णय आउने प्रजिअ गुरागाईंले बताउनुभयो ।

तपाईको प्रतिक्रिया