सूर्यमुखी फूलखेतीतर्फ आकर्षण बढ्यो

  जेठ १२, २०७७

बनियानी, जेठ १२ : खेती गर्न सजिलो र उत्पादन राम्रो हुने भएपछि झापाका कृषकहरु पछिल्लो समय सूर्यमुखी फूलखेतीतर्फ आकर्षित हुन थालेका छन् । अहिले कतै सूर्यमुखी ढकमक्क फुलेको छ त कतै कतिपय बाली उठाउने बेला भएको छ ।

विर्तामोड नगरपालिका–१० स्थित अन्नपूर्ण कृषि समूह र विशाल कृषि समूहका ६० कृषकले २० बिघाभन्दा बढी क्षेत्रफलमा सो फूलखेती गरेका छन् । विर्तामोड नगरपालिकाले खेती प्रोत्साहन एवं प्रवद्र्धनका लागि बीउ र कृषि चुन उपलब्ध गराएपछि उनीहरुले सो खेती लगाएका हुन् ।

सो नगरपालिकाले ४२० बोरा कृषि चुनमा ५० प्रतिशत अनुदान दिएको छ भने बीउ निःशुल्क उपलब्ध गराएको छ । साथै प्राविधिक सहयोग पनि गरिरहेको कृषकको भनाइ छ । अन्नपूर्ण कृषक समूहका सदस्य गोपालकृष्ण शिवकोटीले १० कट्ठामा सूर्यमुखी फूलखेती गरेको जानकारी दिनुभयो । “यसै वर्षदेखि सूर्यमुखीको सामूहिक खेती शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “तेलहन बाली भएकाले बजारको कुनै समस्या छैन, उत्पादन पनि राम्रो हुने थाहा पाएपछि खेती थालेका हौँ ।”

अर्का कृषक देवीप्रसाद शिवाकोटीले पनि १० कट्ठामा सो खेती लगाएको बताउनुभयो । “पहिलो पटक भएकाले शुरुआती अवस्थामा १० कट्ठामा लगाएको छु”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो भयो भने खेती विस्तार गर्ने सोच छ ।”

त्यस्तै झापा गाउँपालिकामा समेत कृषकले सो खेती गरेका छन् । यहाँका कृषकले करिब ५० बिघा क्षेत्रफलमा खेती गरेका हुन् । झापा गाउँपालिका–६ का कृषक बलबहादुर भण्डारीले पाँच कट्ठा जग्गामा खेती गर्नुभएको छ । त्यस्तै, अर्का कृषक दुर्गाबहादुर विष्टले सात कट्ठामा सो खेती गर्नुभएको छ ।

“खेती गर्न सजिलो छ”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो हुने भएकाले खेती लगाएको हुँ ।” खेतीमा झण्झट नभए पनि बेलाबेलामा सुँगाले बाली खाने गरेको उहाँको भनाइ छ । उहाँका अधिकांश कृषकले तोरीको सट्टा सूर्यमुखी लगाएका छन् । तोरीको भन्दा सूर्यमुखीको उत्पादन राम्रो हुने भएकाले कृषक यसतर्फ आकर्षित भएको अर्का किसान डिल्लीप्रसाद चापागाईंको भनाइ छ । “बेच्न भन्दा पनि आफूलाई वर्षभरि खान पुग्नेगरी कृषकले खेती गरेका छन्”, उहाँले भन्नुभयो ।

विर्तामोड नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरिया मोरङ र सनुसरीमा व्यावसायिकरुपमा सो खेती हुने गरेको जानकारी दिनुभयो । “झापामा पनि सूर्यमुखीको खेती विस्तार हुँदैछ”, उहाँले भन्नुभयो, “विर्तामोडमा पनि व्यावसायिक खेतीका लागि नगरपालिकाकै तर्फबाट शुरुआत गरिएको छ ।”

बलौटे माटो सो खेतीका लागि उपयुक्त हुने उहाँको भनाइ छ । नगरपालिकाको पहलमा लगाइएको खेती प्रतिकट्ठा एकदेखि डेढ मनसम्म उत्पादन हुने अनुमान गरिएको छ । उत्पादन राम्रो भए कृषक आफैँ उत्साहित भएर खेती गर्न अग्रसर हुने र नगरलाई तेलमा आत्मनिर्भर बनाउन सकिने उहाँले बताउनुभयो छ । जिल्लाको कमल गाउँपालिका, भद्रपुर, दमक, मेचीनगरलगायतका स्थानमा समेत कृषकले सो खेती थालेका छन् ।

तपाईको प्रतिक्रिया