काठमाडौँ ८ भदौ : युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदको माध्यामबाट युवालाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र नेपालस्थित भारतीय राजदूतावास स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा आज यहाँ आयोजित ‘आऔँ खेल खेलौँ’ एकदिने प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुदको माध्यामबाट युवालाई अगाडि बढाउन सकिने बताउनुभयो ।
“खेलकुद हरेक देशसँग सम्बन्ध सुधार गर्ने र देशको पहिचान उच्च बनाउने उत्तम माध्याम हो,” उहाँले भन्नुभयो । मन्त्री लिम्बुले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेल भएकाले देशको नाम चिनाउने गरी प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।
समावेशी र तन्दुरुस्त समाजका लागि एक माध्यामका रुपमा खेलकुद भन्ने नाराका साथ उक्त प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नेपाल र भारत दुवै देशका परम्परागत खेल खो–खोे, कबड्डी, पानढुङ्गे (सटोलिया), रुमाल लुकाई, टग अफ वार (तान डोरी) खेलाइएको थियो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टङ्कलाल घिसिङ, प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी, नेपालस्थित भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तवलगायतको सहभागीता थियो ।