गण्डकी, ४ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी वर्ष योजना बैंकमार्फत छनोट भएका योजनामा बजेट विनियोजन गरिने बताउनुुभएको छ । प्रदेश समन्वय समितिको बैठकमा उहाँले स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशको समन्वयमार्फत छनोट भएर आएका योजनामा बजेट विनियोजन गरिने बताउनुुभयो ।
“कुन योजना स्थानीय तह, कुन प्रदेश र कुन सङ्घले गर्ने भन्ने छनोट गर्न योजना बैंक आवश्यक परेको हो”, उहाँले भन्नुुभयो, “ढिलोमा फागुन मसान्तसम्म योजना छनोट गरिसक्ने तयारी छ ।” छनोटमा परेका योजनालाई बजेट विनियोजनमा प्राथमिकता दिइने बताउँदै उहाँले आगामी वर्ष योजना बैंकमार्फत छनोट भएका योजनामा बजेट विनियोजन गर्ने गरी तयारी गरिएको जानकारी गराउनुुभयो ।
गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्न लागेको र सो क्रममा प्रदेश भित्रका ८५ वटै पालिकाबाट सुझाव लिइने मुख्यमन्त्री पाण्डेले बताउनुुभयो । प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्च वर्षीय योजनाको अवधारणा पत्र तयार गरेको बताउँदै उहाँले उक्त अवधारण पत्रमाथि जोकोहीले सुझाव दिन सक्ने बताउनुुभयो । नीति योजना आयोगले जोकोहीले सुझाब दिन मिल्ने गरी अनलाइनबाट तयार गर्ने उहाँले बताउनुुभयो ।
स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशले योजना अनुगमनमा पनि सहकार्य गर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशमार्फत सञ्चालित योजनाको स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशका जनप्रतिनिधिले अनुगमन गर्ने बताउनुुभयो । स्थानीय तह र प्रदेशलाई बलियो बनाउन आम्दानीको स्रोत पहिचान हुनुपर्नेमा उहाँको जोड छ । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्रीहरू स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।