काठमाडौँ, २७ साउन : विवाहित नारीको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ यस वर्ष पनि हुने भएको छ । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी दिनुभयो । मिसेस नेपाल वर्ल्डसँगै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने उहाँले बताउनुभयो ।
आयोजक संस्थाका अनुसार मिसेस नेपाल वर्ल्डको विजेताले यही वर्षको अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने छन् । त्यसैगरी मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलका विजेतालाई सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिताका लागि अवसर मिलाइएको छ ।
विवाहित सुन्दरीहरूलाई अश्विनी झाले कोरियोग्राफी गर्दै हुनुहुन्छ भने विभिन्न विषयका विज्ञबाट नियमित तालिम र प्रशिक्षण दिइने छ । गङ्गा महर्जन र सम्राट शाहको संयोजनमा हुने प्रतियोगिताको प्रशिक्षण आगामी भदौ १८ देखि हुने छ । प्रतियोगितामा सहभागी हुन आगामी भदौ १६ सम्म आवेदन दिन सकिने आयोजकले जनाएका छन् ।